प्रदीप ज्ञवाली–
सुवासचन्द्र नेम्वाङको क्षमता र विशिष्टता सर्वग्राह्य र सर्वमान्य थियो । उहाँले हरेक संकटलाई समाधान दिन सक्ने विश्वास र भरोसा प्राप्त गर्नुभएको थियो । राजनीतिक तनावको बेला पनि बीचको बाटो निकाल्न सक्ने, सबैलाई एक ठाउँमा बोलाएर निकास दिन सक्ने समन्वयकारी र सहजकर्ताको विशिष्टता अन्य समकालीन नेता र राजनीतिज्ञमा देखिँदैन ।
अहिले कुनै नेता आफ्नै पार्टीभित्र पनि सर्वस्वीकार्य छैनन् । एउटा पक्षले मान्छ, अर्को पक्षले मान्दैन । अर्को पार्टीेले मान्ने त प्रश्नै छैन । राजनीतिमा तनाव देखापरेको र संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच दूरी बढेको बेला उहाँको अभाव पटकपटक खड्किरहने छ ।
नेपालको इतिहासमा उहाँले चार पटक सभामुख हुने दुर्लभ अवसर पाउनुभयो । त्यो पनि फरकफरक परिवेशमा । पुनःस्थापित प्रतिनिधिसभा, माओवादीसहितको व्यवस्थापिका संसद् र दुई–दुई पटक संविधानसभाको समेत काम गर्ने व्यस्थापिकाको सभामुख ।
संविधान निर्माणमा उहाँले नेतृत्वदायी भूमिका खेल्नुभयो । दलहरुले दुईदुई पटक उहाँलाई नै संविधानसभाको अध्यक्ष बनाए । दलहरुबीच अत्यन्त तिक्त सम्बन्ध थियो । २०७१ को माघमा दर्दनाक घटना समेत भएको थियो । उहाँलाई नै लक्षित गरेर आक्रमण भएको थियो । आन्तरिक र बाह्य दबाब थिए । तर उहाँले निकास निुभयो । मौलिक हकको ग्यारेन्टी भएको, लोकतन्त्र सुदृढ गरेर सामाजिक न्यायको बाटो खोलेको खोल्ने सन्दर्भमा उहाँको नेतृत्व अनुकरणीय छ । संविधान निर्माणका सन्दर्भमा उहाँ सदासर्वदा स्मृतिमा रहनुहुनेछ ।
उहाँले २०४५ सालमा नेपाल बार एसोसिएसनको महासचिव हुँदा सबै दलहरुलाई बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा सामेल हुन आह्वान पनि गर्नुभएको थियो । वकालत र प्राध्यापन त भइहाल्यो । उहाँको व्यक्तित्वका अनेक आयाम छन् ।
आज दिउँसो १ बजेपछि उहाँको शव नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलबाट उहाँको आफ्नै घर बालुवाटार लैजाने कार्यक्रम छ । किरात संस्कृति अनुसार किरात मुन्धुम पाठ गरी उहाँको शवलाई घरमै राखिने छ । भोलि बिहान ११ पछि अन्तिम दाहसंस्कारका लागि आर्यघाट लगिने छ ।
नेम्वाङको निधनमा सिंगो देशले शोक मनाइरहेको छ । च्यासलमा ९७ वर्षीय कृष्णप्रसाद भण्डारी समेत उपस्थित भएर श्रद्धाञ्जलि दिन पुग्नुभयो । उहाँको निधन परिवार र पार्टीका लागि कहिल्यै नपुरिने घाउ हो । उहाँलाई पछिसम्म पनि नेपाली समाजले सम्झिरहनेछ ।
नेकपा एमालेका उपमहासचिव ज्ञवालीसँगको कुराकानीमा आधारित