रामनारायण बिडारी–
संविधानसभाको दोस्रो कार्यकालमा मैले सुवास नेम्वाङसँगै बसेर काम गर्ने मौका पाएँ । म संविधान मस्यौदा कार्यदल र संविधानविज्ञ टिमको सदस्य थिएँ । प्रत्येक धारामा उहाँ पहिले सोध्नुहुन्थ्यो– ‘तपाईंहरुलाई कस्तो लाग्या छ ?’ हामीले बताएपछि ‘मलाई यस्तो लाग्छ’ भन्नुहुन्थ्यो, ‘यही गर्नुपर्छ’ भन्नुहुन्थेन । मलाई उहाँको त्यो शैली राम्रो लाग्यो ।
उहाँ अत्यन्त मिजासिलो हुनुहुन्थ्यो र सधैं सबैलाई उपलब्ध हुने खालको हुनुहुन्थ्यो । जति बेला फोन गरे पनि ट्याक्क उठाइहाल्नुहुन्थ्यो । कथं उठाउन नभ्याए कलब्याक गरिहाल्नुहुन्थ्यो । भीआईपी भएर पनि सामान्य रुपमा काम गर्न सक्ने, सहमति गर्न सक्ने, सबैलाई समेटेर लैजान कोसिस गर्ने खालको हुुनुहुन्थ्यो ।
उहाँ नेगेटिभ भइदिएको भए संविधान जारी गर्न गाह्रो हुन्थ्यो । छिमेकी मुलुकले नै १५ दिन पर्खनुस् भनेको थियो । तर उहाँ २०७२ असोज ३ मै संविधान जारी गर्न दृढ हुनुहुन्थ्यो । त्यसैले संविधान निर्माण र जारी गर्नुको ठूलो श्रेय उहाँलाई जान्छ ।
अहिलेसम्म नेपालमा जति पनि सभामुख भए, तीमध्ये अब्बल सभामुख उहाँ नै हो । उहाँ एक नम्बरको सभामुख हुनुहन्थ्यो । उहाँका पनि कमीकमजोरी थिए होलान् । अहिले त्यसको चर्चा नगरौं । उहाँको निधनले सहमतीय राजनीति र समन्वयकारी भूमिकाको अभाव त खड्किन्छ नै । त्यो अभाव सम्बन्धित विज्ञहरुले पूर्ति गर्नुहोला ।
नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता बिडारीसँग पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि लिएको अन्तर्वार्तामा आधारित