Logo

हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी ! : ओली



काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएको स्मरण गराएका छन् । संविधान जारी गर्नु पूर्व सन्ध्याको कुरा स्मरण गराउँदै ओलीले नाकाबन्दीको कठिन अवस्था सम्झिएका छन् ।

एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई पशुपति आर्यघाटमा अन्तिम विदाई गरेर फर्किएपछि ओलीले आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाएको बताएका छन् । उनले आठ वर्षअघिको नाकाबन्दीको अवस्था पार गरेको कुरा झलझली सम्झिएको उल्लेख गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए । भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौं ।

अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो । विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समुहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए । नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा रहन नदिने एउटा प्रहार खेपीरहेका थियौं । सधैं शान्त रुपमा प्रस्तुत हुने उहाँ त्यो दिन कडा रुपमा प्रस्तुत हुनु भएको थियो । दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दवाव थियो । भारतीय विदेश सचिव आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिंदै मलाई भेट्न आउनु भयो । उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, तीन गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै वर्वाद हुने छ । यस्तो भयो भने त देश नै सकिन्छ ।’

उहाँ असोज तीन गते संविधान जारी गर्न संसदमा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादवकहाँ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नु भएनछ । ‘नआउन पनि सक्ने देखें, के गर्ने होला ?’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनु भएको रहेछ । उहाँलाई मैले तपाईं तीन गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौंला भनें ।

हुन पनि संविधान जारी भएपछि नाकबन्दी भयो । हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !



प्रतिक्रिया दिनुहोस्

Screenshot