Logo

प्रचण्डजीले चीन भ्रमण गर्ने बाटो न्यूयोर्क रोज्नु कूटनीतिक रूपमा अत्यन्त गलत छ : भीम रावल



काठमाडौं, २९ भदौ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री डा. भीमबहादुर रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण नेपालको संविधानविपरीत हुने बताएका छन् ।
‘प्रधानमन्त्रीले भारत, चीन, अमेरिका, रुस आदि शक्तिशाली देशमा जानुअघि संविधानको ५१ (ग) को स्मरण गर्नुपर्छ । चीन भ्रमण गर्ने बाटो न्यूयोर्क रोज्नु कूटनीतिक दृष्टिकोणबाट अत्यन्त गलत छ । नेपालको असंलग्न परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्त विपरीत छ । चीन भ्रमणको यो तरिका गलत हो । उहाँले के कारण यस्तो गर्नुभयो ? मलाई आश्चर्य लागेको छ । बेइजिङ भएर अमेरिका गयो भने के हुन्छ ? पाकिस्तान भएर दिल्ली गए के हुन्छ ?’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रधानमन्त्री प्रचण्ड विभिन्न शक्तिकेन्द्रलाई खुसी पार्ने र सत्तामा टिकिरहने अभियानमा रहेको आरोप पनि रावलले लगाए । उनले थपे, ‘दक्षिण पूर्वी एसियामा गएका बेला त्यसरी जानु ठीकै हो । अमेरिका र चीनको व्यापारिक प्रतिस्पर्धा छ, ताइवानको विषय लिएर तनाव छ । इन्डो प्यासिफिक क्षेत्रमा विवाद छ । यो तथ्यलाई नबुझी यति साह्रै फितलो हुनु हास्यास्पद कुरा हो । प्रचण्डजी विभिन्न शक्तिलाई खुसी पार्ने र सत्तामा टिकिरहने अभियानमा हुनुुहन्छ । चीन भ्रमण जान मन छैन भने नगए पनि भइहाल्यो । पछि पनि गए भइहाल्थ्यो । नेपाल आएर गएको भए पनि हुन्थ्यो ।’ खेलकुदको अवसरमा पारेर चीन भ्रमण गर्नु सन्तुलित सम्बन्ध राख्नु नभएको पनि उनले औंल्याए ।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्ड जानुपर्ने कुनै कारण नभएको पनि रावलले औंल्याए । उनले थपे, ‘यतिबेला नेपालको प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जानु भनेको औपचारिकता मात्र हो । न सत्य निरुपण र मेलमिलापको काम टुंगिएको छ, न त देशमा केही गजब काम भयो भन्ने छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने तरिकाले बदनामी बेहोरेको छ । सुन-तस्करीले बदनाम छ । नेपालले देखाउने कुरा नै के छ र ? केही वर्षअघि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको साटो गृहमन्त्रीको हैसियतमा म महासभामा जाँदा हुने, अहिले प्रधानमन्त्री नै जानुपर्ने के छ र ?’
महासभामा गइसकेपछि नेपालको चुच्चे नक्साबारे प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट पार्न सक्नुपर्ने पनि रावलको धारणा छ । उनले भने, ‘ऐतिहासिक तथ्य र प्रमाणका आधारमा चुच्चे नक्सा निकालेपछि नेपालले जानकारी गरायो कि गराएन ? के चीनले समाचारका आधारमा गर्छ ? अन्तर्राष्ट्रिय कूटनीतिमा हुन्छ ? परराष्ट्र मन्त्री अन्तर्राष्ट्रिय समुदायलाई चुच्चे नक्सा पठाएको भेटिएन भन्नुुहुन्छ, पूर्वपरराष्ट्रमन्त्री पठाएको छु भन्नुहुन्छ । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा त्यसको प्रमाण पेश गर्न सक्दैन । के प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा यसबारे बोल्नुहुन्छ ?’
चिनियाँ राजदूत छन् सोङको विवादास्पद अभिव्यक्तिबारे आफूलाई थाहा नभएको रावलले बताए । उनले भने, ‘मैले उहाँका कुरा पढेको वा हेरेको छैन । तर यो नयाँ कुरा छैन । हामी एमसीसीका बारेमा चीनले उचाल्यो भन्दा सरकारले चुइक्क बोल्यो ? चीनले चुच्चे नक्सा राखेन भनेर जुलुस निकाल्ने, भारतले गर्दा नबोल्ने ? अन्तर्राष्ट्रिय कूटनीतिको मर्यादा सबैले पालना गर्नुपर्ने पनि उनको जोड छ ।
संक्रमणकालीन न्याय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दबाब र प्रभावबिना तत्काल टुंग्याउनुपर्ने पनि उनले बताए । रावलले भने, ‘प्रधानमन्त्रीजीले चीन जान अमेरिकालाई सोध्नु पर्दैन नि । तर युद्धमा बाल सैनिक राखेको अभियोगमा गिरफ्तार भइहाल्छु भन्ने लागेर सोधिरहनुभएको छ । शान्ति प्रक्रिया अन्तर्राष्ट्रिय राडारमा राखिरहने उपकरण भएको छ । यसलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दबाब र प्रभावबिना तुरुन्त टुंग्याउनुपर्छ ।’
आफू अछाममा भएकाले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जलि दिन उपस्थित हुन नसकेको पनि रावलले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot