काठमाण्डौ, भदौ ३० । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार ठाउँबाट दर्शन गराइने भएको छ ।
पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि सहज बनाउन चार ठाउँबाट लाइनको व्यवस्था गर्न लागेको कोषले जनाएको छ ।
कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी व्यवस्थापन गरिँदैछ ।
दोस्रो मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने, तेस्रो गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट लाइन अघि बढ्ने गरी व्यवस्था हुँदैछ ।
चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । मूल मन्दिर परिसरको तस्बिर, भिडियो खिच्न मनाही गरिएको छ ।
कोषले तीजको दिन असोज १ गते बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ ।