Logo

‘बुधबारदेखि देशभरका विद्यालय बन्द गर्न बाध्य भएका छौं’



काठमाडौं, ३० भदौ । नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हरिदेव यादवले नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबारदेखि हुने शिक्षक आन्दोलनमा ऐक्यबद्धता र पूर्ण समर्थन रहेको बताएका छन् । विद्यालय शिक्षकलाई मर्यादित बनाउनेभन्दा पनि त्रासपूर्ण वातावरण राख्ने खालको शिक्षा विधेयकको औचित्य नभएको उनको जिकिर छ ।
‘विद्यालय शिक्षा विधेयक आउनु राम्रो कुरा हो । तर त्यो शिक्षक र शिक्षा प्रणालीका लागि पक्षमा भएन । विद्यालय शिक्षाको अधिकार नदिँदा त वडाध्यक्षले राजनीतिकरण गरेर शिक्षकलाई दुःख दिने, सरुवा गर्ने काम गरिरहेका छन् । अब नियुक्ति, सरुवा, बढुवा र बर्खास्ती समेतको अधिकार दिँदा के होला ? त्यसैले विद्यालय शिक्षालाई स्थानीय तह मातहतमा राख्ने विधेयकविरुद्ध बुधबारदेखि विद्यालय बन्द गर्न  बाध्य भएका छौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
शिक्षकको नियुक्ति, सरुवा र बढुवाको अधिकार संघीय सरकारअन्तर्गत नै रहनुपर्ने यादवले औंल्याए । उनले थपे, ‘आन्दोलन संविधानले नै दिएको अधिकार हो । संसद् महिनौ बन्द गर्न हुने, हामीले आफ्नो हक हित र अधिकारको कुरा गर्न नपाउने ? हामीले नबोले शिक्षकको अधिकार बारे कसले बोल्ने ? गुणस्तरको जिम्मा लिन तयार छौं तर शिक्षकको नियुक्ति, सरुवा, बढुवाको अधिकार संघीय सरकारअन्तर्गत नै रहनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot