Logo

युवाको विकास भन्नु नै मुलतः समाज र देशको विकास : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाको विकास भन्नु नै मुलतः समाज र देशको विकास भएको बताएका छन् । शनिबार राजधानीमा आयोजित तेस्रो नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन– २०८० लाई सम्बोधन गर्दै उनले सोे कुरा बताएका हुन् ।

उनले भने, ‘हामीले एकातिर युवामा रहेका ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपरेको छ भने अर्कोतिर युवाहरूलाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । विदेशमा रहेका लाखौं नेपाली युवाहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन । त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यस दिशामा गम्भीरतापूर्वक लागिरहेको छ ।’

राष्ट्रिय युवा नीति २०७२ अनुसार १६ देखि ४० वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिएकाले राष्ट्रिय जनगणना २०७८ अनुसार देशमा त्यस्ता युवाको जनसंख्या १ करोड २४ लाख अर्थात् ४२.५६ प्रतिशत रहेको स्मरण गरे । जनसांख्यिक लाभांश नगुमाउँदै युवाको सर्वाङ्गीण विकासका निम्ति हामीले प्राथमिकतापूर्वक ध्यान केन्द्रित रहनुपर्ने उनको भनाई छ ।

यस्तो छ प्रधानमन्त्रीको पूर्ण सम्बोधन

नेपाल सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ लाई युवा उद्यमशीलता वर्ष घोषणा गरेको पृष्ठभूमिमा युवा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमा उपस्थित हुन पाउँदा खुसी लागेको छ । सर्वप्रथम कार्यक्रमका आयोजक राष्ट्रिय युवा परिषद, नेपाल विजनेस इन्स्टिच्युट लगायतका संघसंस्था एवं सहभागी सबै नवउद्यमी युवाहरूमा हार्दिक धन्यवादसहित सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।

युवाको विकास भन्नु नै मुलतः समाज र देशको विकास हो । युवा जनसंख्या उच्च रहेको यो समय जनसांख्यिक लाभांशको दृष्टिले विशिष्ट अवस्था हो, जुन धेरै समय नरहन पनि सक्छ । त्यसैले जनसांख्यिक लाभांश नगुमाउँदै युवाको सर्वाङ्गीण विकासका निम्ति हामीले प्राथमिकतापूर्वक ध्यान केन्द्रित गर्नुपर्दछ ।

दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन, राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकूल बनाउँदै नेपाली युवालाई भविष्यका कर्णाधार मात्र नभएर वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार प्रतिवद्ध छ । यस सम्मेलनले युवाहरूको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।

हामीले एकातिर युवामा रहेका ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपरेको छ, अर्कोतिर युवाहरूलाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । विदेशमा रहेका लाखौं नेपाली युवाहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन । त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यस दिशामा गम्भीरतापूर्वक लागिरहेको छ ।

वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण प्रयास अगाडि बढाएको छ । विदेशमा रहेका लाखौं युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया पनि सुरू भएको छ । केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आवद्ध गर्ने लक्ष्य लिएका छौं । त्यसैगरि देशको अनौपचारिक क्षेत्र र स्वरोजगार क्षेत्रमा क्रियाशील श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक कार्यक्रममा आवद्ध गर्ने प्रक्रियाले तीव्रता पाएको छ । यो कार्यक्रमलाई थप प्रभावकारी बनाएर युवाहरूले देशभित्रै भविष्य देख्ने वातावरण निर्माण गर्ने जिम्मेवारी पनि हाम्रै काँधमा छ ।

नेपाली युवाको सर्वाङ्गीण विकास गर्दै हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको छ । यसै सन्दर्भमा चालु आर्थिक वर्ष २०८०।८१ लाई सरकारले युवा उद्यमशीलता वर्षको रूपमा मनाउने घोषणा गरेको कुरा यहाँहरूलाई अवगत नै छ । नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउनका निमित्त सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ । यसबाट सकारात्मक परिणाम निकाल्नका निम्ति युवाको उत्साह र सहभागिताको पनि उत्तिकै आवश्यकता रहन्छ । यसको लागि म सम्पूर्ण नेपाली युवालाई विशेष अपील गर्दछु ।

सात दशक लामो सङ्घर्षपछि संविधानसभाबाट जारी भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक हकको रूपमा ग्यारेन्टी गरेको छ । यही यथार्थलाई आत्मसात गर्दै सरकारले संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन लगायतका महत्वपूर्ण ऐन संसदमा प्रस्तुत गर्ने निर्णय गरिसकेको छ । यी ऐनहरूको निर्माणले संविधानप्रदत्त मौलिक हकको कार्यान्वयनसहित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पुग्नेछ ।

अन्त्यमा युवा उद्यमशीलतालाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस महत्वपूर्ण सम्मेलनले निकालेका जायज र सकारात्मक निष्कर्षलाई सरकारका तर्फबाट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै फेरि एकपटक नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८० को पूर्ण सफलताको शुभकामनासहित विदा हुन्छु, धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्

Screenshot