Logo

पालिकामा जसले जितेको छ, शिक्षकलाई उसकै झोला बोकेर हिँड्न बाध्य पारियो : शिक्षक महासंघ अध्यक्ष



काठमाडौं, ३० भदौ । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले शिक्षकलाई पालिकामा राजनीतिक दलको झोला बोकेर हिँड्न बाध्य पारिएको आरोप लगाएकी छन् ।
‘हामीले स्थानीय तह मातहत रहन नचाहेको होइन । स्थानीय तहमा राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा दुःख दिइरहेको अवस्था छ । पालिकामा जसले जित्यो, उसको झोला बोकेर हिँड्न बाध्य पारिएको छ । ट्रेड युनियनले दिएको अधिकार अंकुश लगाउने अवस्था आएको छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।
अध्यक्ष तुलाधरले शिक्षकहरुले स्थानीय सरकारको अधिकार कुण्ठित गर्न नचाहेको पनि बताइन् । उनले थपिन्, ‘हामी स्थानीय तहसँग सहकार्य गर्न तयार छौं । १२ कक्षासम्मको शिक्षाको एकल अधिकार स्थानीय तहलार्ई दिइरहँदा शिक्षकमाथि विभागीय कारबाही तलब रोक्का, बढुवा रोक्का वा बर्खास्ती आदि विभागीय कारबाहीका अधिकार जिल्ला शिक्षा कार्यालय, शिक्षा सेवा आयोग वा प्रदेश निर्देशनालयको प्रमुखको समेत सल्लाहमा हुनुपर्छ भन्ने हाम्रो माग हो । स्थानीय तहलाई शिक्षकको अनगुमन, मूल्यांकन, तालिम, प्रोत्साहन र मनोबल उकास्ने कुरामा हाम्रो आपत्ति होइन ।’
प्रस्तावित विद्यालय शिक्षा विधेयक पारित भए एउटा जिल्लाको पालिकाले अर्को जिल्लाको पालिकामा सरुवा सरुवा गर्ने अवस्था आउने पनि तुलाधरले बताइन् । उनले भनिन्, ‘हामीले नबुझीकन त्यत्तिकै विरोध गरेको होइन । पञ्चायती शासकभन्दा चर्को भए स्थानीय तह । हामी विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव राख्न सडक र सदन दुवै ठाउँबाट लबिङ गर्छौं । नजिकको सरकार भनेर दुःख दिनुहुन्छ त ?’
उनले आन्दोलनको बेलाको पठनपाठन अन्य बिदाको समयमा गर्ने पनि बताइन् । तुलाधरले भनिन्, ‘हामीले देशभरिका शिक्षकलाई काठमाडौं बोलाएका छौं । बुधबारदेखि आन्दोलन सुरु हुन्छ । हामीलाई पनि ७० लाख बालबालिकाको माया छ । यो बेलाको पठनपाठन बिदाका बेला गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot