Logo

जसपा नेताको प्रश्न— प्रधानमन्त्रीकहाँ डेलिगेसन गएपछि मात्र अपराधी पक्रने कस्तो गृहमन्त्री हो ?



काठमाडौं, ३० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेता एवं सांसद प्रदीप यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत भए वा नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट पार्नुपर्ने बताएका छन् ।
‘चीनको राजदूतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको ऋण सहयोगमा भएकोमा पटकपटक बीरआईअन्तर्गत भन्दै आउनुभएको छ । तर बहालवाला पर्यटन मन्त्री सुदन किराँतीले संसद्मा बीरआईअन्तर्गत होइन भन्नुभएको छ । हो कि होइन, बीआरआई कार्यान्वयनभन्दा अगाडिको हो कि होइन, अब चीन भ्रमणमा जाँदा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता यादवले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआए नेपाल ऋणको दलदलमा फस्ने पनि औंल्याए । उनले थपे, ‘प्रधानमन्त्रीले कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुन सक्छ भन्नुभयो तर के के सम्झौता हुन्छ भन्ने स्पष्ट पार्नुभएको छैन । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको कुरा त छँदै छ, चीनतर्फका सबै नाका खुलाउनुपर्छ । एकचोटि रिबन काटेर खोल्ने अनि बन्द गर्ने काम भइरहेको छ । कोरोनाको बहाना बनाएर कारण यतिका वर्ष चीनतर्फका बन्द गरियो । भरखर खोलेका छन् । भारतले बन्द गरेको भए के हुन्थ्यो ?’
सांसद यादवले चीनका राजदूत छन् सोङको विवादास्पद अभिव्यक्तिबारे परराष्ट्र मन्त्री एनपी सावद कानमा तेल हालेर बसिरहेको आरोप पनि लगाए । उनले भने, ‘चिनियाँ राजदूतले किन त्यसो बोल्नुभएको हो ? अहिलेसम्म सरकार चुप लागेर बस्नुको कारण के हो ? परराष्ट्र मन्त्री कानमा तेल हालेर बस्नुभएको छ । औपचारिक कार्यक्रममा चिनियाँ राजदूतले नेपालको परराष्ट्र नीतिको खिलाफमा गएर अभिव्यक्ति दिनु सरासर गलत हो । भारतसँग सम्बन्ध राख्ने नराख्ने, लाभ हुने नहुने नेपालले विचार गर्ने हो । चिनियाँ दूतावासले तय गर्ने होइन । नत्र नेपाल त फुटबल ग्राउन्ड बनिहाल्छ ।’
उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको पनि आलोचना गरे । उनले भने, ‘नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी हान्ने अपराधीलाई पुलिसले हतकडी नै लगाएन । उसले त पक्रँदा पनि भाषण दिइरहेको थियो । सीधै भन्छ, गोली ठोक्दिन्छु । जिल्ला प्रशासन कार्यालयमा पनि उसलाई प्रहरीले भाषण गर्न छुट दियो । त्यो नेता हो कि अभिनेता हो ? पत्रकारको बीचमा जाँदा पनि खुकुरी लिएर गएको छ । गृहमन्त्रालयको ड्राइभिङ सिटमा बसेको मान्छेले जिल्ला प्रहरी र प्रशासनमा के भइरहेको छ भन्ने बुझ्नु पर्दैन ? नारायणकाजी कस्तो गृहमन्त्री हो ? के गर्न खोजेको गृहमन्त्री र गृहमन्त्रालयले ?’
हेटौंडा डाक्टरमाथि कुटपिट गर्ने अपराधीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई गुहार्नुपर्ने अवस्था आउनु विडम्बना भएको पनि यादवले बताए । उनले भने, ‘डाक्टरमाथि कुटपिट भयो । नेतामाथि आक्रमण भयो । जताततै अराजकता छ । यसमा सरकार चुकेकै हो । डाक्टरहरुले अपराधी पक्रन आन्दोलन गर्नुपर्ने ? राजीनामा गर्नुपर्ने ? प्रधानमन्त्रीकहाँ डेलिगेसन गएपछि मात्र प्रहरीले अपराधी पक्रने ? सरकारलाई जे पनि गर्ने छुट हुन्छ ? हरेक कामका लागि प्रधानमन्त्रीकहाँ जानुपर्छ र ?’



प्रतिक्रिया दिनुहोस्