Logo

प्रधानमन्त्री दाहालको चीन भ्रमण : बीआरआई परियोजना कार्यान्वयनमा जोड दिने



काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको क्रममा विभिन्न सहयोग सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले यसपटकको आफ्नो चीन भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ हुने विश्वास दिलाएका छन् । आफ्नो चीन भ्रमणबारे संघीय संसद्का दुवै सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री दाहालले चीनसँगको सम्बन्ध बलियो बनाउन आफ्नो भ्रमण केन्द्रित हुने स्पष्ट पारेका छन् । कतिपयले भने प्रधानमन्त्री दाहालको चीन भ्रमण भूराजनीतिक सन्तुलनमा केन्द्रित हुने बताएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर प्रधानमन्त्री दाहाल न्युयोर्कबाट आगामी असोज ५ गते बेईजिङ जाने कार्यतालिका छ । प्रधानमन्त्री दाहालको चीन भ्रमण सफल बनाउनको लागि नेपाली दूतावास सक्रिय भएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्रीको भ्रमणको राम्रो तयारी भएको र चीनले भव्य स्वागतको तयारी गरेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने विश्वास लिएका छन् । चीन भ्रमणको सन्ध्यामा उनले पूर्व प्रधानमन्त्रीहरु, चीनका लागि नेपाली पूर्व राजदूतहरुसँग पनि सामूहिक छलफल गरिसकेका छन् । सबैले प्रधानमन्त्री दाहाललाई भ्रमण नेपालको हितमा उपयोग गर्न सुझाव दिएका छन् । सोहीअनुसार प्रधानमन्त्री दाहालले पनि सदनमा आफ्नो चीन भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल–चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भ्रमणको दौरान नेपालको इन्फास्ट्रक्चरको विकास, पर्यटन, कृषि, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा चीनसँग सम्झौता गरिने नेपाल सरकारको तयारी छ । तर, चीनबाट प्राप्त सहयोगबारे छलफल गर्दा नयाँ समझादारी गर्दा सबै सहयोग सम्झौता अनुदानमा केन्द्रित गरिने प्रधानमन्त्री दाहालको भनाई छ । बीआरआई परियोजना कार्यान्वयन गर्न पनि आफूले विशेष ध्यान दिने प्रधानमन्त्री दाहालको भनाई छ ।

यस्तै, उत्तरी सीमा जोड्ने सडक, गल्छी–रसुवागढी केरुङ ट्रान्समिसन लाइन परियोजना कार्यान्वयन गर्न हस्ताक्षर गर्ने तयारी छ । यी सबै परियोजना चीनको अनुदानमा बनाउने प्रधानमन्त्री दाहालको तयारी छ । प्रधानमन्त्री दाहाल १९औं एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुन चीन जान लागेका हुन् । सो क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङसँग भेटवार्ता गर्ने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot