Logo

म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिँन, इमानदार प्रयासमात्रै गर्छु: केपी ओली



काठमाडौं, ३० भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आफूले अब्बल राजनीतिज्ञ नठानेको बताएका छन् । आज (शनिबार) भक्तपुरको सल्लाघारीमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा बालबालिकाहरुले राखेको जिज्ञासामा जवाफ दिँदै उनले आफूले आर्फैलाई कहिले पनि अब्बल राजनीतिज्ञ नठानेको र देश जनता र राष्ट्रको पक्षमा इमानदार प्रयासमात्रै गरेको बताए ।

‘देशको पूर्वप्रधानमन्त्री र एक अब्बल राजनीतिज्ञबाहेक आफूले आफैंलाई कसरी चिनाउनुहुन्छ ?’ भनि बालबालिकाले गरेको प्रश्नमा ओलीले भने, ‘म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिँन, पूर्वप्रधानमन्त्री चाहिँ भएकै हो । अब्बल राजनीतिज्ञ अब तपाईँहरुबाट जन्मिनुपर्छ । नयाँ पिँढीबाट जन्मिनुपर्छ । हाम्रो पिँढीभन्दा तपाईँहरु बढि देशभक्त, विकास प्रेमी, क्लिन, भिजिनरी, कर्मठ र क्रियाशील नेताका रुपमा तपाईँहरु आउन पर्छ ।’

आफूले अहिले पनि नेपालविरुद्धको षड्यन्त्रलाई पराजीत गर्न नसकेको ओलीले बताए । उक्त षड्यन्त्रहरु पराजीत गर्नका लागि नयाँ पिँढी राजनीतिमा आउन पर्ने उनले बताए । नयाँ पुस्ता राजनीतिमा उदायर नेपाललाई साँच्चैको सार्वभौम, स्वाधीन, आफ्नो भूगोलको रक्षा गर्नसक्ने र राष्ट्रिय हितको रक्षा गर्नसक्ने बनाउन पर्ने उनले बताए ।

‘मेरा केही असफलताहरु छन्, मैले नेपालविरुद्धको षड्यन्त्रलाई पराजीत गर्न सकिराखेको छैन । तपाईँहरुले ती षड्यन्त्रलाई पराजीत गर्नपर्छ र नेपाललाई साँच्चैको सार्वभौम, स्वाधीन, आफ्नो भूगोलको रक्षा गर्नसक्ने, राष्ट्रिय हितको रक्षा गर्नसक्ने हुनुपर्छ । म अब्बल राजनीतिज्ञ त भन्न सक्दिँन ।’ उनले भने, ‘म इमानका साथ काम गर्छु । इमानदार प्रयास गर्छु । देशलाई माया गर्छु, जनतालाई माया गर्छु । राष्ट्रको सम्पत्ति धुत्र्याईँ, छलकपटले, चलाखी र भ्रष्टताले आफ्नो बनाउन हुँदैन भन्ने मान्यता राख्छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot