Logo

डाक्टरहरूको सुरक्षामा सरकार चुक्यो : स्वास्थ्य-सचिव



काठमाडौं, ३१ भदौ । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले आन्दोलनरत नेपाल चिकित्सक संघसँग वार्ताको वातावरण बनाउने कोसिस भइरहेको बताएका छन् ।
‘हिजो राति नेपाल चिकिसत्क संघको विज्ञप्ति आएपछि अहिले बिहान हाम्रो आन्तरिक बैठक छ । आगामी दिनमा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण नहोस् र हडताल गर्न नपरोस् भनेर हामी लागिरहेका छौं । वार्तामा बस्ने वातावरण बनाएर सहमतिको कोसिस गर्दै छौं । माननीय मन्त्रीजीको पनि त्यही चाहना छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

नेपाल चिकित्सक संघको आह्वानमा आजदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेको छ। संघले हेटौँडास्थित सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र आवश्यक कारवाही गर्न अल्टिमेटम दिँदा पनि कारबाही नगरेको विरोधमा आकस्मिकबाहेकका सेवा ठप्प पारेको हो। स्वास्थ्य संस्था बन्द गर्दा सेवाग्राही मारमा परेका छन्।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनको व्यावहारिक कार्यान्वयनको आवश्यकता रहेको पनि डा. पोखरेलले औंल्याए । उनले भने, ‘चिकित्सक र स्वास्थ्य संस्थाको सुरक्षा हुन नसकेकोमा हामी चिन्तित छौं । एउटा डाक्टरको हैसियतमा भन्नु पर्दा चिकित्सकलाई सुरक्षा दिन राज्य नै चुकेको देखिन्छ । यस्ता घटना हुनुहुँदैन, भएका घटनाको समाधान गर्छौं । डाक्टरको सुरक्षा स्वास्थ्य मन्त्रालयको मात्र नभएर नेपाल सरकारकै जिम्मेवारी हो ।’
हेटौंडाको सन्चो अस्पतालमा दुई डाक्टरमाथि भएको आक्रमणका दोषीलाई प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालयमा समन्वयमा कारबाहीका लागि प्रयास गरिने पनि डा. पोखरेलले बताए । उनले भने, ‘एउटा चिकित्सकले आफ्नो बुद्धि र विवेकले भ्याएसम्म बिरामीलाई बचाउन नै खोजिरहेको हुन्छ । उसलाई जबर्जस्ती दोषी देखाउन खोज्नु र आवेगमा आएर भौतिक कारबाही गर्नु निन्दनीय हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot