Logo

लाखे नाच संरक्षणमा नेवार समुदाय



दमौली (तनहुँ), ३१ भदौ । पछिल्लो समय लाखे नाच लोप हुँदै गएपछि तनहुँका नेवार समुदाय लाखे नाच संरक्षणमा जुटेका छन् । अहिलेका पुस्ताले लाखे नाचलाई कम प्राथमिकता दिएकाले यहाँका नेवार समुदाय यसको संरक्षणमा जुटेका हुन् ।

संस्कार र संस्कृति बचाउने उद्देश्यसहित लाखे नाचको संरक्षणका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा राष्ट्रियस्तरको लाखे नाच प्रतियोगिता आयोजना गरिएको छ । डुम्रे सांस्कृतिक एवं सामाजिक संरक्षण समितिको आयोजनामा शनिबार राति सम्पन्न प्रतियोगितामा भक्तपुरको विश्वकर्मा लाखे च्वांख प्रथम भयो  । एकतीस समूह सहभागी प्रतियोगितामा तनहुँको डुम्रेस्थित झिङ्गु नेवा पुचः द्वितीय, बन्दीपुरको खड्कमाई सांस्कृतिक समूह तृतीय भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः  ४० हजार पाँच सय ५५, २० हजार पाँच सय ५५ र पाँच हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेका थिए ।

संरक्षण समितिका संयोजक घनश्याम श्रेष्ठले लाखे नाच नेवार समुदायको परम्परा भएकाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले  भने, “विगतमा लाखे नचाउँदा छुट्टै उत्साह हुन्थ्यो, अहिले यो प्रचलन क्रमशः घट्दै जान थालेको छ । यसको संरक्षणका लागि प्रयास गरेका हौँ ।”

नेवारी संस्कृतिका भाषाविज्ञ अशोक पालिखेले संस्कार र संस्कृति बचाउनका लागि नेवार समुदाय एकजुट हुनुपर्ने बताए । भूतप्रेत भगाउने उद्देश्यले लाखे नचाउने गरिएको जानकारी दिँदै उनले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरे । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot