Logo

महिलाले मदिरा खाए भनेर आलोचना गर्नेभन्दा पनि सामाजिक सीमा र मर्यादामा बसौं : झाँक्री



काठमाडौं, १ असोज । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले तीजको बदलिँदो स्वरुप समय र समाजको उपज भएको बताएकी छन् ।

‘पहिले महिलाहरुले आर्थिक र सामाजिक अवस्था राम्रो थिएन । बाटोघाटो, यातायात र सञ्चारको व्यवस्था थिएन । त्यसैले वर्षको एक पटक माइतीमा गएर तीज मनाउने अनि करुणा, व्यथा, विरहका गीत गाउने चलन थियो । अहिले कैैयौं महिलाहरु डायोस्पोरामा छन् । भिडियो कल गरी लाइभमा बसेर तीज मनाउने समय आयो । यो समय र समाजको उपज हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।
समाजमा एक खालको प्रतिस्पर्धा र देखासिकीका कारण चाडपर्वमा विकृति आउने गरेको पनि झाँक्रीले औंल्याइन् । उनले भनिन्, ‘३० वर्ष अगाडि सामाजिक जागरण, संगठित हुने, विद्रोह र शिक्षा र चेतनाको गीत गाइएका थिए । अब सांकेतिक रुपमा अधिकारका कुरा भन्नु परेन । समाजलाई पुरानै समाजमा दुःखमा जाऊ भन्ने कुरा प्रगतिशील कुरा होइन ।’
तीजले मुलुकको आर्थिक गतिविधि ह्वात्तै बढेको उनको टिप्पणी छ । झाँक्रीले भनिन्, ‘पहिले पहिले गाउँमा तीज आउनु एक महिनादेखि मादल बज्थ्यो । अहिले होटल, पार्टी प्यालेस वा घरमा एक महिनादेखि मनाइन्छ । यसमा धेरै चिन्ता गर्नुपर्दैन । यसले मुलुकको आर्थिक गतिविधि बढाइदिएको छ । चुरा, पोते, सारी, खानपिनले अर्थतन्त्र चलायमान बनाएको छ । त्यसैले विकृति भयो, छोरीमान्छेले मदिरा खाए भनेर आलोचना गर्नेभन्दा पनि सामाजिक सीमा र मर्यादामा बसौं । उत्सव र एकताको हिसाबले बुझौं ।’
तीजले सबै नेपालीलाई सांस्कृतिक एकतामा बाँध्न सकेको उनको भनाइ छ । झाँक्रीले भनिन्, ‘तीज सांस्कृतिक सद्भावको पर्व हो । यसले नेपाली एकतालाई जीवन्त बनाउँछ । मधेसमा पनि भव्यतासाथ तीज मनाइन्छ ।’ उनले आफू पशुपतिनाथ मन्दिर दर्शनका लागि नगए पनि सिफल चौरमा गुल्मेली समाजले गर्ने कार्यक्रममा सहभागी हुने बताइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot