काठमाडौं, १ असोज । नेपाली कांग्रेसमा १५औं महाधिवेशनको नेतृत्व कसले गर्ने भन्ने विषयमा अहिदेखि नै बहस सुरु भैसकेको छ । खासगरी सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनमा आफू नेतृत्वमा नदोहोरिने बताएसँगै सभापतिको लागि अहिलेदेखि नै समिकरण बनाउन नेताहरु सक्रिय भएका छन् । सभापतिका आकांक्षीहरुले अहिलेदेखि नै आफ्नो समूहलाई सक्रिय बनाउन थालेका छन् ।
सभापति देउवाले डा. शशांक कोइरालालाई सभापतिमा अघि बढ्न संकेत गरेको चर्चा चलेको छ । यता, संस्थापनइतर समूहबाट डा. शेखर कोइराला र गगन थापाले आगामी १५औं महाधिवेशनमा सभापतिको लागि आफूलाई तयार गरिसकेका छन् । त्यसको तयारीस्वरुप नेताहरुले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । यसअघि १४औं महाधिवेशनमा देवासँग शेखरको प्रतिष्पर्धा थियो ।
तर, शेखरको समूहमा भने गगन थापाले १५औं महाधिवेशनको लागि आफूलाई सभापतिको उम्मेदवारको रुपमा अहिलेदेखि नै तयार पारिसकेका छन् । पछिल्लो समय शेखर र गगनबीचको सम्बन्धमा पनि चिसोपना आएको चर्चा छ । अहिले उनीहरुबीचको भेटवार्ता पनि पातलिन थालेको छ । तर, शेखरले भने भोलि (मंगलबार) अपरान्ह आफ्नो समूहको भेला बोलाएका छन् । सो भेलामा १५औं महाधिवेशनको लागि कसरी जाने भन्नेबारे तयारीकेन्द्रित छलफल हुने जनाईएको छ । भेलामा देउवा समूहबाट महामन्त्रीमा लडेका युवा नेता प्रदीप पौडेल र प्रकाशमान सिंहबाट महामन्त्रीमा लडेर जितेका विश्वप्रकाश शर्मालाई पनि बोलाईएको छ ।
१५औं महाधिवेशनमा नेतृत्वमा आफू उठ्ने भनेर शशांकले सार्वजनिक रुपमै भनिसकेकोले र शेखरले पनि तयारी गरेपछि अहिले कोइराला परिवारसँग नजिक भएका नेता तथा कार्यकर्ताहरु निराश भएका छन् । कोइराला परिवारबाट नेतृत्वको दावेदार मानिएकाहरुलाई एकजुट गराउन अहिले केही नेताहरु लागिपरेका छन् । यसअघि पनि सुजाता कोइराला, शशांक र शेखरलाई मिलाउन नेताहरु लागिपरेका थिए ।
तर, उनीहरुको चाहना पूरा भएन । अहिले शशांक र शेखरलाई मिलाउनको लागि कांग्रेसका प्रभावशाली नेता तथा सांसद दीपक खड्का सक्रिय भएका छन् । उनी शशांक कोइरालानिकट नेता मानिन्छन् । खड्काले १५औं महाधिवेशनमा शशांक र शेखरमध्ये एक जनामात्रै सभापतिको उम्मेदवार हुनेगरि छलफल चलाएका छन् । शशांकलाई सभापति बनाए शेखरलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने र शेखरलाई सभापति बनाए शशांकलाई प्रधानमन्त्रीको रुपमा अघि सार्न सकिनेगरि खड्काले विकल्प अघि सारेका छन् ।
दशैं, तिहारजस्ता ठूला चाडपर्व सकिएलगत्तै दुई नेतालाई मिलाउनको लागि छलफल अघि बढ्ने कुरा स्वयम खड्काले पनि आफूनिकट नेताहरुसँग बताउने गरेका छन् । कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ताहरुले भने दुई नेताबीचको सहकार्य हेर्न आँतुर रहेको कुरा व्यक्त गर्न थालेका छन्। कतिपयले भने १४औं महाधिवेशनदेखि नै शेखर र शशांकबीचको सम्बन्धमा दरार आइसकेकोले यी दुई नेता मिलेर जान सक्ने अवस्था नरहेको पनि टिप्पणी गर्न थालेका छन् । Photo/ReportersNepal