Logo

तीन करोड मागिएको प्रमाण भेटिए मोहनजंग थापालाई पनि कारबाही हुन्छ : रास्वपा सांसद



काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले पार्टीले सांसद र मन्त्री बनाउन कसैसँग पैसा नलिएको दाबी गरेका छन् ।
‘चलचित्र र विज्ञापन बनाउँदा बनाउँदै पहिले देश बनाऊँ भनेर म राजनीतिमा लागें । पार्टीले न सांसद न त मन्त्री बन्न नै पैसा माग्या छ । यस्तो नीति नै छैन । मन्त्री बनाउन पार्टीले पैसा मागेको कुरा सही हुनै सक्दैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठलाई कसैले बेबकुफ बनाएको शाहले बताए । उनले भने, ‘उहाँसँग कसले र कसरी पैसा माग्यो ? त्यो उहाँलाई नै थाहा होला । उहाँलाई कसैले बेबकुफ बनायो होला । उहाँ कहिले कोर टिम भन्नुहुन्छ, कहिले मोहनजंग थापा भन्नुहुन्छ । कहिले मेरो अडियो होइन भन्नुभयो, कहिले हो भन्नुभयो । आफ्नै बयान फेरिरहनुभएको छ । अनुशासन समितिमा संरक्षण गर्नुपर् यो भन्नुभएको थियो । तर हामीले गरेनौं । बदनियतपूर्ण तरिकाले पैसा मागेको सबुत प्रमाण देखिए थापालाई पनि कारबाही हुन्छ भनेर पार्टीले विज्ञप्ति निकालिसकेको छ । भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको अभियान चलिरहेका बेला कसैलाई संरक्षण गर्ने कुरै भएन ।’
सरकारले भ्रष्टाचारका फाइल खोले पनि परिणाम नआएको उनको टिप्पणी छ । उनले भने, ‘सरकारको रिजल्ट त्यति राम्रो आएन । आफ्ना नेता बचाउँदै जाने, अरुलाई पोल्दै जाने तरिकाले परिणाम दिन सक्दैन । तर हामीले भ्रष्टाचारीलाई कारबाही गर्न दबाब दिइरहेका छौं । तर त्यसले आकार लिन सकेको छैन । अझै पनि हामीलाई बाइपास गरिन्छ भने २०८४ को चुनावमा जनताले हामीलाई स्पष्ट बहुमत दिने अवस्था बन्छ ।’ साथै उनले आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनुपर्ने औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot