Logo

माधव–झलनाथ सम्बन्ध विस्फोटको मुखमा



काठमाडौं, २ असोज । नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको सम्बन्धमा दरार आएको छ । गत मंसिरमा सम्पन्न निर्वाचनलगत्तै झलनाथले माधव नेपालसँग रुष्ट छन् । पार्टीका विभिन्न बैठकमा समेत नेता खनालले अध्यक्ष नेपाललाई चुनौति दिनेगरि आफूलाई पेश गरेका छन् ।

पछिल्लो समय बसेको पार्टीको स्थायी कमिटीको बैठकमा समेत नेता खनालले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनलाई चूनौति दिँदै आफ्नो फरक मत पेश गरेका थिए । तर, बहुमतका कारण नेपालको प्रतिवेदन पारित भएको छ । खनालले नेतृत्वको कार्यशैलीमाथि पनि प्रश्न उठाउन थालेका छन् ।

जवाफमा अध्यक्ष नेपालले पनि खनालमाथि तिखा शब्द प्रहार गर्न थालेका छन् । दुई नेताबीचको तिक्तताबारे हिजो माधव नेपालको सम्बोधनले पनि छर्लङ् पारेको छ। अध्यक्ष नेपालले झलनाथले गर्ने गरेको एमसीसीको विरोधबारे हिजो कडा टिप्पणी गरेका थिए । बरु, आफूले नै जोड गरेर संसद्बाट एमसीसी सम्झौतासम्बन्धी व्याख्यात्मक घोषणा पारित भएको जनाए ।

उनले एमसीसीको विरोध गर्दैमा क्रान्तिकारी हुने र रातारात पार्टीले चमत्कार गर्नेजस्तो कुरा गर्न नहुने विचार राखेका थिए । खनालले पार्टीले जारी गरेको अपानी पनि नमान्ने घोषणा गरेका छन् । उनले पछिल्लो अपानी प्रकरणलाई कोतपर्वको संज्ञा दिएका थिए । र, आफूजत्तिको नेतालाई पनि अपानीबारे जानकारी नदिनु आठौं आश्चर्य भएको उनको टिप्पणी थियो । एकीकृत समाजवादीमा पनि देखिनेगरि दुई गुट सक्रिय भएको छ ।

असन्तुष्ट नेताहरु खनाल समूहमा गोलबन्द हुन थालेका छन् । खनालले त बलियो कम्युनिष्ट पार्टी गठन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनी सुरुदेखि नै एमालेसँग सहकार्यको सम्भावनाबारे सकारात्मक देखिन्छन् । पछिल्लो समय एमाले नेताहरुसँग उनको भेटवार्ता बाक्लिएको छ । एमालेले आजबाट सुरु भएको ‘संविधान र सुवास’ विषयक प्रवचन कार्यक्रममा खनाललाई वक्ताको रुपमा बोलाएको छ । एमाले नेताहरुले झलनाथलाई पार्टीमा भित्र्याउनको लागि पहल थालेको चर्चा छ ।

माधव नेपालले हिजोमात्रै आफूहरुलाई गठबन्धनबाट अलग्याउनको लागि षड्यन्त्र भैरहेको सार्वजनिक टिप्पणी गरेका थिए । उनको उक्त अभिव्यक्ति आफ्नै पार्टीभित्रको अन्तुष्टिलक्षित थियो । गत पुषमा एमालेले माधव नेपालसँग सहकार्यको लागि जोडबल गरेको थियो । तर, राष्ट्रपतिमा प्रस्ताव गर्नुको बावजुद पनि माधव नेपालले एमालेसँगको सहकार्यको प्रस्तावलाई लत्याएको कारण अहिले नै एमाले–एकीकृत समाजवादीबीचको सहकार्य हुने सम्भावना देखिएको छैन् ।

तर, यो बीचमा कोशी प्रदेशको सरकारको स्थायित्वको लागि एमालेले एकीकृत समाजवादीको साथ खोजेको छ । हिजोमात्रै एमाले नेता शेरधन राईले एकीकृत समाजवादीका नेता राजेन्द्र राईसँग यही विषयमा केन्द्रित रहेर छलफल गरेको कुरा बाहिरिएको छ । एकीकृत समाजवादी अहिले माओवादी केन्द्र, जसपा, र नेकपासहितको समाजवादी केन्द्रमा छ । तर, खनाल भने समाजवादी केन्द्र गठनलाई लिएर असन्तुष्ट छन् । उनी मोर्चाका कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । उनले पछिल्लो समय एमालेमा फर्कने मन बनाएको चर्चा हुन थालेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot