Logo

‘साँच्चै गम्भीर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आएको छ, नत्र धरै प्रकारका खतराहरूबाट हामी जेलिँदैछौँ’ 



काठमाडौं,२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् । देश गम्भिर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ओलीले ती समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा ओलीले धरै प्रकारका खतराहरूबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरूको कर्तव्य भएको उल्लेख गरे ।

‘साँच्चै गम्भीर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आज आएको छ । आज सबै पार्टी, सबै पक्षहरू मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धरै प्रकारका खतराहरूबाट हामी जेलिँदैछौँ । त्यो गम्भीर परिस्थिति छ,’ ओलीले भने ।

प्रमुख राजनीतिक दलहरू जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन् । जिम्मा, जमानी बसेर धेरै बलिदान भएको छ । जिम्मा, जमानी बसेर धेरैका घरबार, परिवार उजाड भएका छन । प्रमुख राजनीतिक दलहरूको आह्वानमा धेरैले जीवन आहुति गरेका छन् । धेरैको क्षति भएको छ । धेरै ठूलो हिसाब गर्न नसकिने क्षति हामीले व्यहोरेर यो ठाउँमा आइपुगेका छौँ, ओलीले भने,यी आजको उपलब्धिहरू जे छन् । यी यतिकै होइन आकाशबाट आएका होइनन् । यी बलिदानसँग, जीवनसँग, रगत र पसिनासँग, आँशु,कठिनाइहरूसँग जुधेर यहाँ ल्याईपुर्‍याएका छौँ । यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन ।

संविधान निर्माणमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने ओलीको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot