Logo

एउटा कानुन बनाउन एक अर्बसम्म खर्च गरे : कानुनविद्



काठमाडौं, ३ असोज । संविधानविद् डा. युवराज संग्रौलाले वर्तमान संविधान बनाउँदा गल्ती भएको औंल्याएका छन् ।
‘हाम्रो प्रतिनिधिसभा भौगोलिक प्रतिनिधित्वमा सीमित भयो । सबै वर्ग, व्यवसाय, सम्प्रदाय र बौद्धिक प्रतिनिधित्व भएन । पञ्चायतमा बरु स्नातक क्षेत्र थियो । पत्रकार, वकिल डाक्टर, मजदुर, किसानको प्रतिनिधित्व भएन । तिनका लागि निर्वाचन क्षेत्र बनाएर पठाएको भए प्रनिनिधिसभाले राम्रो सरकार दिन सक्थ्यो । न्यायपालिकालाई सुदृढ गर्थ्र्यो । त्यहाँ राजनीतिक दलहरुको मात्र प्रतिनिधित्व भयो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
संविधान निर्माणमा भएका गल्तीको जिम्मेवारी संविधान निर्माताले नै लिनुपर्ने डा. संग्रौलाले औंल्याए । उनले भने, ‘प्रतिनिधिसभाले बनाएको कानुन महँगो भयो । एउटा कानुन बनाउन एक अर्बसम्म खर्च गरे । यो दोष दलहरुको होइन, संविधान निर्माता हो । संविधानले काम गर्ने होइन । यो त दस्तावेज मात्र हो । यसमा राजनीतिक शक्तिको गल्ती देखिएको छैन ।’
राजनीतिक दलहरुले न्यायपालिका र नागरिक समाजलाई थङथिलो पारेको आरोप पनि डा. संग्रौलाले लगाए । उनले भने, ‘वकालत नचलेका, दलहरुका मान्छे, फेल भएका मान्छेलाई न्यायाधीश भए । नागरिकले खबरदारी गर्ने संस्था नै ध्वस्त पारे । दमननाथ ढुंगाना, पद्मरत्न तुलाधरको पालाको जस्तो नागरिक समाज अहिले छैन । अहिले त नागरिक समाज पश्चिमा शक्तिले स्थापना गरेको एनजीओ भए ।’ राजनीतिक दलहरुलाई जनताले प्रशस्त खबरदारी गरेको उनको कथन छ । वर्तमान संविधानमा केही कुरामा संशोधन, केही कुरामा परिमार्जन, केहीमा भाषाको फेरबदल आवश्यक रहेको उनको टिप्पणी छ ।
कानुनविद् डा. संग्रौलाले देशको उन्नत भविष्यका लागि राजतन्त्रतिर फर्कनु नहुने बताए । उनले भने, ‘प्रगतिशील सोच भएका मानिसहरु इतिहासबाट पाठ सिकेर जान्छन् । राजतन्त्र ल्याउने वा नल्याउने बहस जनताको बीचमा हुन सक्छ, तर नेपालको उन्नत भविष्यका लागि इतिहासतिर फर्कनु हुँदैन । हामीले भविष्यतिर जाने हो, इतिहासतिर फर्कने भनेको ध्वस्त हुने बाटो हो ।’



प्रतिक्रिया दिनुहोस्