Logo

अब संविधान संशोधन होइन, रक्षा र कार्यान्वयनको चरण हो : एमाले उपाध्यक्ष



काठमाडौं, ३ असोज । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान संविधान सर्वस्वीकार्य भएको बताएका छन् ।
‘संविधान जारी हुने बेला आलोचनाका केही स्वर उठेका थिए । तर आजको दिनमा संविधान सर्वस्वीकार्य बनिसकेको छ । अहिले संविधान संशोधनको चरण होइन, संविधानको रक्षा र कार्यान्वयन गर्ने चरण हो । विभिन्न चुनौतीलाई पन्छाउँदै जनचाहनालाई अग्रगामी रुपान्तरण गर्नु नै आजको अभिभारा हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
कानुन निर्माण र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर् याउन आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि एमाले उपाध्यक्ष पौडेलले बताए । उनले भने, ‘हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीको पालामा कानुन निर्माण र आर्जित अनुभवका आधारमा कानुन संशोधनका थुप्रै काम भए । त्यसपछिको गति धीमा छ । जुन गतिमा कानुन निर्माण गर्नुपथ्र्यो, त्यो हुन सकेको छैन । शान्तिप्रक्रियालाई निष्कर्षमा पुर् याउन सम्बन्धित पक्षको रुचि र तत्परता देखिएन ।’
संघीयताको विकल्प खोज्ने कुरामा आफ्नो असहमति रहेको पौडेलले बताए । व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने निरपेक्ष विश्लेषण गर्न नहुने उनको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot