Logo

सधैंभरि संविधानमा खोट देखाइरहनु दुःखद



अर्जुननरसिंह केसी–
नेपालको संविधान, २०७२ हामीले कहीं कतैबाट बकस पाएका होइनौं । नेपाली जनताले सार्वभौमिक सर्वोच्चतालाई प्रयोग गरेर बनाएको यो सातौं संविधानको उमेर आठ वर्ष पुग्यो । अहिले यो कार्यान्वयनको चरणमा छ ।
सन् १७८८ मा बनेको अमेरिकाको संविधान विश्वकै नमुना संविधान हो । अमेरिकी संविधान तीसौं पटक संशोधन भयो तर यतिका वर्षसम्म पनि यो जीवितै छ । सन् १९५० बनेको भारतको संविधान सयौं पटक संशोधन भयो तर अहिलेसम्म जीवितै छ ।
संविधान भनेको ब्रह्मसूत्र होइन । वेद, कुरान वा बाइबल पनि होइन । जनआकांक्षा अनुसार संशोधन र परिमार्जन हुनु संविधानवादको प्रक्रिया हो । संविधान संशोधन हुनुहुँदैन भन्ने छैन । तर यसको आवश्यकता र औचित्य पुष्टि गर्नु जरुरी हुन्छ । अहिलेसम्म ३९ वटा कानुन अझै बन्न सकेका छैनन् । हामीले मौलिक हकका कानुन समेत बनाउन सकेका छैनौं ।
संविधान जनताकै निम्ति हो । संविधानको बाटो देखाउने मात्र हो । संविधानका सञ्चालक पात्रहरुको कमीकमजोरीका कारण आम निराशाको स्थिति आएको छ । कतिपयले संविधानलाई शक्ति प्राप्त गर्ने हतियार ठानेका छन् । त्यसैले मुलुक झन् झन् असफलता उन्मुख छ । जनमनोविज्ञान अराजकतातिर उन्मुख छ । जनताको निराशालाई आशामा, आक्रोशलाई विश्वासमा, निष्क्रियतालाई सक्रियतामा बदल्नुपर्ने बेला आएको छ । हामीले हामीलाई नै बदल्न सकेनौं भने देशले अत्यन्त अराजकताको स्थिति सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।
वर्षमा एकचोटि संविधान दिवस मनाएर मात्र संविधानप्रतिको वफादारी प्रमाणित हुँदैन । सामाजिक न्याय, सामाजिक सुरक्षा, निरपेक्ष गरिबीको रेखामुनिका जनताको जीवनस्तर उकास्ने प्रत्याभूति हुनुपर्छ । जनतामा व्याप्त असन्तुष्टिको सम्बोधन गर्न राष्ट्र जुरुक्क उठेर लाग्नुपर्छ । जनतामा नयाँ आशा र विश्वास सञ्चार गर्न अनि चेतनाको दियो बाल्न सत्तापक्ष लगयात सबै दलहरु प्रतिबद्ध हुनुपर्छ ।
मुलुकमा सातौं संविधान बन्दा पनि संविधानमा खोट देखाउने र परिवर्तन गर्ने कुरा मात्र भइरहनु दुःखद हो । अहिलेको जटिलता, निराशा र संगठित वा असंगठित अराजकताबाट हत्या हिंसा गर्ने अभिव्यक्ति आइरहेका छन् । अन्तजार्तीय भाइचारामा आगो लगाउने कुरा भइरहेका छन् । ६ महिना वा वर्षदिनमा सम्पन्न गर्ने भनेको शान्तिप्रक्रिया १८ वर्ष भइसक्दा पनि अन्तिम निष्कर्षमा पुगेको छैन । यसको मतलब पीडितलाई न्याय, परिपूरण हुनुपर्छ भन्ने हो । न्यायका निम्ति गम्भीर स्थिति आउन दिनु हुँदैन ।
जहाँसम्म नेपाली कांग्रेसमा विचार मिल्ने साथीहरुको बैठकको कुरा छ, लोकतान्त्रिक पद्धतिमा मन मिलेका साथीहरुबीच समसामयिक परिस्थितिमा विचार आदानप्रदान सामान्य कुरा हो । यो अनौठो कुरा होइन । भलै हिजो म पुग्न सकिनँ ।
मैले अहिलेको सरकारको विकल्प खोज्नुपर्छ भनेको छैन । खोज्नुपर्छ भन्ने हो भने पनि औचित्य पुष्टि गर्नुपर्छ । सरकार परिवर्तन गरे पनि योभन्दा गतिलो सरकार बन्छ भन्ने लाग्दैन । गठबन्धन तोड्ने पक्ष हामी हुनुहुँदैन । कांग्रेले सार्वजनिक प्रतिबद्धता पालना गर्छ भन्ने छवि धुमिल दिनुहुँदैन । असल विकल्प छ भन्ने कन्भिन्स नगरेसम्म म त्यसको पक्षमा लाग्दिनँ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलाले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री केसीसँग गरेको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्

Screenshot