Logo

माओवादीको उद्गम भूमि रोल्पा पुगेका रविले भनेः जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन्



काठमाडौं,३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेको बताएका छन् ।

रास्वपाले आजबाट सुरु गरेको जनआवाज सुन्ने अभियान अन्तर्गत रोल्पा पुगेका लामिछानेले संविधान दिवसको अवसरमा शुभकामना दिँदै मुलुकको बागडोर सम्हालेको प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका छन् ।

उनले भनेका छन्,‘जननिर्वाचित संविधानसभाद्वारा संविधान बनाइनु ऐतिहासिक थियो । जनताले हदै सम्मको सङ्घर्ष गरेर नयाँ संविधान बनाएको ८ वर्ष पुगिसकेको छ । तर, मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको छ । जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन् । जनताले समृद्धिको ढोका खोजिरहेका छन् । उनीहरूले बुझेका छन् संविधान साधन हो, साध्य होइन । संविधान आफैँमा गतिशील दस्तावेज हो । हाम्रो संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको छ ।’

रास्वपाले पहिलो चरणमा १९ वटा जिल्लामा केन्द्रीय नेता खटाएको छ । जसमा सभापति लामिछाने रोल्पा पुगेका छन् । भने उपसभापति डोलप्रसाद अर्याल पर्सामा खटिएका छन् ।

अन्य नेताहरू विराजभक्त श्रेष्ठ–बैतडी, सुमना श्रेष्ठ–कैलाली, शिशिर खनाल–रसुवा, मनिस झा–पर्वत, गणेश पराजुली–ओखलढुंगा, रमेश प्रसाई–सुर्खेत, सन्तोष परियार–कपिलवस्तु, विपिन आचार्य–संखुवासभा, डा. तोसिमा कार्की–डोटी, हरि ढकाल– सोलुखुम्बु, क मल सुबेदी–रौतहट, कविन्द्र बुर्लाकोटी–कञ्चनपुर, डा. स्वर्णिम वाग्ले– तनहुँ, गणेश कार्की–सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल–खोटाङ, शंकर श्रेष्ठ–इलाम खटिने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज निर्माणका लागि भन्दै नेताहरु गाउँ पसेका हुन् । रोल्पा माओवादीको उद्गम विन्दू हो । माओवादीले सुरू गरेको १० वर्ष लामो शसस्त्र संघर्षको सुरुआत रोल्पाबाट भएको थियो । अन्य क्षेत्रहरुमा माओवादी केन्द्रको प्रभाव घट्दै गएपनि रोल्पा, रुकुम लगायतका पहाडी क्षेत्रहरुमा उसको प्रभाव बलियो नै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot