Logo

‘पृथकतावादीहरूले हतियार बिसाउनै पर्छ’



बाकु, ३ असोज । अर्मेनियाली पृथकतावादीहरूले आफ्ना हतियार नबिसाएसम्म अजरबैजानले सैनिक कारबाही नरोक्ने दृढता व्यक्त गरेको छ ।

राष्ट्रपति इल्हाम अलीयेभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भएको टेलिफोन वार्तामा अर्मेनियाली पृथकतावादीहरूले आफ्ना हतियार बिसाएमा नागोर्नो–काराबाखमा थालिएको सैन्य कारबाही समाप्त हुने बताएको राष्ट्रपतिको कार्यालयले बुधबार विज्ञप्ति निकालेर बताएको हो । राष्ट्रपति अलिएभले विदेशमन्त्री ब्लिन्केनलाई यदि काराबाख सेनाले हतियार बिसाएमा आतङ्कवादविरुद्धको कारबाही रोकिने बताएको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधवार नागोर्नो–काराबाखमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका छन् । अजरबैजानले पृथकतावादी काराबाख सेनाविरुद्ध सैन्य कारबाही सुरु गरेको सन्दर्भमा महासचिवको यस्तो आह्वान आएको हो ।

महासचिव गुटरेसका प्रवक्ता स्टेफेन डुजारिकले नागोर्नो–काराबाख लडाइँ अविलम्ब अन्त्य हुनुपर्नेमा महासचिवले जोड दिएको तथा उनले काराबाख क्षेत्रमा तनाव कम गर्न तथा २०२० को युद्धविराम एवं अन्तरराष्ट्रिय मानवीय कानूनका सिद्धान्तहरूलाई पूर्णरुपेण पालना गर्न आह्वान गरेको बताएका छन् ।

यसैबीच, आर्मेनियाको अतिवादी समूहले नागोर्नो–काराबाख क्षेत्रमा बिछ्याएको बारुदी सुरुङमा परेर मङ्गलबार जना चार जना प्रहरीसहित सात जना अजरबैजानीको मृत्यु भएको थियो । काराबाख क्षेत्रको खोड्झाभेन्स्की जिल्लामा बिछ्याइएको बारुदी सुरुङमा परी चार जना प्रहरीले ज्यान गुमाएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्