Logo

पार्टीले भन्यो भने तुरुन्त राजीनामा दिन तयार छु : शिक्षा राज्यमन्त्री



काठमाडौं, ४ असोज । शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले शिक्षकहरुको माग वार्ताबाटै समाधान गर्नुपर्ने औंल्याएकी छन् ।
‘शिक्षकहरुसँग वार्ताका लागि शिक्षामन्त्रीज्यूको नेतृत्वमा वार्ता टोली गठन भएको छ । शिक्षामन्त्रीले शिक्षक महासंघ र सम्पूर्ण शिक्षक नेताज्यूहरुलाई वार्तामा आउन आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने हो भने उहाँ न्यूयोर्क जानुभएको छ । उपप्रधानमन्त्रीलाई कार्यवाहक दिनुपर्छ । वार्ता त नेपालमै गर्नुपर्छ नि,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।
राज्यमन्त्री कुमारीले शिक्षकहरुको माग जायज भएको र त्यसमा आफ्नो समर्थन रहेको बताइन् । उनले थपिन्, ‘म पनि शिक्षण पेशाबाटै राजनीतिमा आएकी हुँ । शिक्षकहरुको समस्या मलाई थाहा छ । उहाँहरुको माग सम्बोधन गर्नुपर्छ । जायज माग राज्यले सम्बोधन गर्नुपर्छ । त्यसमा मेरो एकदमै समर्थन छ ।’
विद्यालय शिक्षा विधेयक आफूले भरखर मात्र पाएको पनि उनको जिकिर छ । कुमारीले भनिन्, ‘जेठ १० गते मन्त्रालयमा मेरो नियुक्ति भयो । मन्त्रालयका साथीहरुसँग मैले सरोकारवाला शिक्षक नेताज्यूसँग रायसल्लाह गरेर विद्यालय शिक्षा विधेयक अघि बढाउँदा सजिलो हुन्छ भनेकी थिएँ । उहाँहरुले विधेयक अघि बढिसकेकाले अब नरोकौं भन्नुभयो । म साइलेन्ट हुनुपर् यो । पछि मैले विधेयक सदनमा दर्ता भएको थाहा पाएँ । प्रतिनिधिसभाका सांसदलाई वितरण गरेपछि मैले पनि पाएँ । भरखर ल्याएर राखिदिएकाले म पनि अध्ययन गर्दैछु ।’
शिक्षामन्त्री अशोककुमार राईले आफूलाई कुनै अधिकार नदिएको उनले बताइन् । राज्यमन्त्री कुमारीले भनिन्, ‘राज्यमन्त्रीलाई कुनै अधिकार छैन । नेपाल सरकारले नै तोकेर दियो भने मात्र हो नत्र कुनै पनि मन्त्री आफ्नो अधिकार कसैलाई दिन चाहँदैनन् । मन्त्रीज्यू हाम्रो पार्टीको शीर्षनेता र संघीय परिषद् अध्यक्ष हो । भन्न त मन्त्रीज्यूले विज्ञान प्रविधिको अधिकार दिएको छु, भन्नुहुन्छ । तर केही अधिकार दिनुभएको छैन । मलाई राज्यमन्त्रीका रुपमा पार्टीले पठाएको हो । पार्टीले राजीनामा दिन भन्छ भने म तुरुन्त राजीनामा दिन्छु । मेरो कुनै स्वार्थ छैन ।’
शिक्षकसँग वार्ता टोली बनाएको पनि आफूले पत्रिका पढेर थाहा पाएको राज्यमन्त्री कुमारीले बताइन् । उनले भनिन्, ‘मन्त्रीज्यूलाई मैले हजुर के हुँदैछ, मलाई केही जानकारी हुँदैन भनिरहन्छु । उहाँ पत्रिका पढ्नुस् न भन्नुहुन्छ । मलाई धेरैजसो कुरा पत्रिकाबाटै थाहा हुन्छ । वार्ता टोली बनेको पनि पत्रिकाबाटै थाहा भयो । मलाई थाहा भएन । मन्त्रीज्यूले अहिलेसम्म मलाई राज्यमन्त्री ठानेर बोलाउनुभएको छैन । कहिलेकाहीं मन्त्रालयको विभागका साथीहरुले बोलाएका बेला कुनै कार्यक्रममा जान्छु । तर कुनै पनि विषयवस्तुमा छलफल र गृहकार्य गर्न पाएको छैन ।’
शिक्षा मन्त्रालयमा २५ वर्ष अगाडि फर्केको आरोप पनि उनले लगाइन् । यादवले भनिन्, ‘शिक्षा मन्त्रालयअन्तर्गतका कुनै पनि समिति उपसमितिमा एउटै फेसका साथीहरु छन् । न महिला, न फरक फरक समुदायको समावेशीकरण भएको छ ।’

 



प्रतिक्रिया दिनुहोस्