Logo

‘दलाल पुँजीवाद जुलुस नारा लगाएर, बन्दुक पड्काएर खत्तम हुँदैन् : युवराज ज्ञवाली



देउखुरी, ४ असोज । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनबाटै समाजवादको आधार तयार पार्न सकिने बताएका छन् । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटिले बुधवार संविधान दिवसको अवसरमा राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधानमा लेखिएका अधिकार कार्यान्वयनबाटै मुलुक समृद्ध हुनसक्ने भएकाले संविधानको पूर्ण कार्यान्वयन नै अहिलेको मुख्य आवश्यकताको बिषय रहेको बताए ।

‘दलाल पुँजीवाद जुलुस नारा लगाएर, बन्दुक पड्काएर खत्तम हुँदैन । कुशलतापूर्वक संविधान लागु गरेर देश आत्मनिर्भर हुँदै जाने छ । तव मात्रै दलाल पुँजीवादको अन्त्य हुनेछ,’ उनले भने–‘समाजवादमा पुग्ने लक्ष्य संविधानले बोकेको छ । समाजवादको आधार तयार गर्न संविधानलाई राम्रोसँग कार्यान्वयन गर्नुपर्ने छ । संविधान ठीकसँग कार्यान्वयन गर्नुपर्यो । मौलिक हक कार्यान्वयन गर्नुपर्ने छ । यो संविधानले समाजवादको आधार तयार पार्ने दृष्टिकोण दिएको छ । जति जति संविधान लागू हुँदै जाने छ । त्यतित्यति समाजवादको आधार तयार हुँदै जाने छ ।’

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश ईञ्चार्ज तथा केन्द्रीय सचिव पद्मा अर्यालले संविधानको रक्षा, कार्यान्वयनका लागि सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताईन् । ‘यो संविधान समानतामा आधारित छ । संविधानको मुटु प्रस्तावनामा समानतालाई आत्मसात् गरेको उत्कृष्ट संविधान हो । जनतामा अधिकार प्रत्याभूत गरेको छ’ उनले भनिन्–अव संविधानको पूर्ण कार्यान्वयनको अवस्थामा पुग्नुपर्ने छ ।’



प्रतिक्रिया दिनुहोस्