Logo

गर्भ रहेपछि बाहिरियो सामूहिक बलात्कारको घटना



काठमाडौं, असोज ५ । गत ३० भदौमा भागेश्वर गाउँपालिका–३ मा स्वास्थ्य शिविर भयो । गाउँपालिकाको नियमित कार्यक्रम अन्तरगत भएको शिविरमा भिडियो एक्स–रे सेवा पनि सञ्चालन गरिएको थियो । सोही शिविरमा आइन स्थानीय २० वर्षीया युवति (विवाहित) । केही महिनादेखि पेट दुख्ने समस्या देखिएको थियो उनको ।

भिडियो एक्सरेमा पाँच महिनाको गर्भ रहेको देखायो । परिवारका सदस्य जिल्ल परे । किन भन्दा ती युवतीका श्रीमान् विगत डेढ वर्षदेखि भारत थिए । श्रीमान् डेढ वर्षदेखि भारत रहेको समयमा पाँच महिनाको गर्भ देखिएपछि ती युवतीका परिवारका सदस्यले सोही दिन प्रहरी चौकी लामिकाण्डेमा मौखिक जानकारी गराए ।

‘वैशाख महिनामा सामूहिक बलात्कार भएको र घटनामा संलग्न एउटा युवकलाई चिन्छु भन्दै मौखिक रूपमा प्रहरी चौकीलाई जानकारी गराइएको थियो,’ जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले भने। युवतीले बताएको हुलियाको आधारमा प्रहरीले २ असोजमा ४ जनालाई पक्राउ ग¥यो ।

२ असोजमा पीडित युवतीका ससुराले चार जनाको नाममा किटानी जाहेरी पनि दिइसकेको डिएसपी कार्कीले बताउनुभयो । ‘२० वर्षीया युवतीको पहिलो पटक वैशाख ५ गते स्थानीय नानीगाड र १२ गते बाँझो गोठमा सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ बिहीबार आरोपितलाई सार्वजनिक गर्दै डिएसपी कार्कीले भने, ‘५ गते बलात्कार हुँदा चार जना र त्यसपछि दुई जना संलग्न भएको खुलेको छ ।

पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड रहेका छन् । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार चारै जना सामूहिक बलात्कारमा संलग्न रहेको भन्दै पीडित युवतीले पुष्टि गरेकी छन् । २ असोजमा पीडित युवतीका ससुराले चार जनाको नाममा किटानी जाहेरी पनि दिइसकेको डिएसपी कार्कीले बताए। बयानका क्रममा आरोपितले पनि स्वीकार गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्