काठमाडौं, ५ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रतिको आफ्नो गुनासो र असन्तुष्टि कायमै रहेको संकेत गरेका छ्न । तर, नेपालमा सबै परिस्थितिको मूल्यांकन गर्दै उनले राजसंस्थाको अपरिहार्यता महसुस गरेका छन् । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले पूर्वराजा ज्ञानेन्द्र शाहका भूमिकाको खुलेर आलोचना गरेका थिए ।
उनले आफूलाई ज्ञानेन्द्रले नै पार्टी अध्यक्षबाट पराजित गराएको आरोप लगाएका थिए । यो बीचमा थापाले गणतन्त्रलाई स्विकार गरेको र राजसंस्थाको एजेण्डा त्यागेको बताउँदै आएका थिए । अहिले भने उनले आफ्नो राजनीतिक यात्राको कोर्स करेक्शन गरेका छन् । उनले हिन्दू अधिराज्यसहितको राजसंस्थाको वकालत गर्न थालेका छन् ।
थापाले हिजोमात्रै फेशबुकमा लेखेका छन्–
राजा प्रतिको मेरो गुनासो,असंतुष्टी आफ्नो ठाउँमा छ।तर,जब देशका प्रमुख राजनीतिक दलका शीर्षनेताहरू र कतिपय चल्तिका आमसंचार माध्यमहरु समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई बिदेशीको पैसासँग साटी रहेको तथा निहित स्वार्थको लागि बिदेशी सामु आत्मसमर्पण गरेको देख्छु,म अत्यन्त चिन्तित हुन्छु। अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु।