Logo

‘अजरबैजानका सैनिकका कारण काराबाख क्षेत्रमा आतङ्क’



येरेभान, ५ असोज । अजरबैजानका सैनिक नागोर्नो–काराबाखको पृथकतावादी किल्ला स्टेपानाकर्टको नजिक डेरा जमाएर बसेपछि त्यहाँका भयभीत बासिन्दा आफ्नो घरको सबैभन्दा तल्लो भाग (जमिनमुनि) लुक्न बाध्य भएका विद्रोही समूहका प्रवक्ताले शुक्रबार एएफपीलाई बताएका छन् ।

पृथकतावादी समूहका प्रवक्ता आर्मिन हेरापेट्यानले स्टेपानकर्टको अवस्था भयावह बनेका, अजरबैजानका सेनाले शहर घेरेकाले स्थानीय बासिन्दामा ज्यान जोगाउन ठूलो त्रास र तनाब भएको बताएका छन् । “बिजुली छैन, ग्यास छैन, खाना छैन, इन्धन छैन, इन्टरनेट र टेलिफोन सम्पर्क विच्छेद भएको छ,” आफ्नो समूहमा धेरैले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका जनाउँदै हेरापेट्यानले भनेका छन् ।

येरेभानमा पृथकतावादी सरकारको सूचना केन्द्रको प्रतिनिधित्व गर्ने हेरापेट्यानका अनुसार स्टेपनाकर्ट र नागोर्नो–काराबाखका अन्य भागमा जातीय सफाया हुँदा ती सेवा अवरुद्ध भएका हुन् ।

अर्मेनियाली पृथकतावादीहरूले हतियार बिसाएर रुसी मध्यस्थतामा बिहीबार अजरबैजानका प्रतिनिधिहरूसँग एकीकरण वार्ताअन्तर्गत प्रारम्भिक चरणको वार्ता गरेका थिए । त्यसअघि भएका झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका हेरापेट्यानले बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्