Logo

नेपाल–भारत विकास साझेदारीले लियो थप गति



काठमाडौं, ६ असोज । नेपाल र भारतबीचका विकास साझेदारीले थप गति लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि विकास साझेदारीले गति लिन थालेको हो । पछिल्लो समय पारस्परिक लाभका लागि दुई देशबीच उर्जा सहकार्य बढेको छ । प्रधानमन्त्री दाहालको गत जुनमा भएको भारत भ्रमणका क्रममा अवको दश वर्षमा भारततर्फका विद्युत निर्यात क्षमतालाई १० हजार मेगावाट पुर्याउन प्रयास गर्ने प्रतिबद्धतालाई यथार्थमा बदल्ने प्रयास भएको छ ।

पछिल्लो समय भारततर्फ थप १८० मेगावाट विजुली निर्यात स्विकृत भएको छ । नेपालले अब भारततर्फ ६३१ मेगावाट उर्जा निर्यात गर्ने भएको छ । उर्जा निर्यातका लागि डे अहेड बजारबाहेक मध्यावधि र रियल टाईम बजार उपलब्ध भएको छ । भारतको क्याविनेटले नै नेपालबाट आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत किन्ने निर्णय गरिसकेको छ । जसले गर्दा प्रधानमन्त्री दाहालको हालैको भारत भ्रमणमा भएको सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको रुपमा लिईएको छ । अहिले उर्जा निर्यातका लागि १३२ केभी टनकपुर–महेन्द्रनगर प्रसारण लाईन थप भएको छ ।

नेपाल र भारतबीचको विकास साझेदारीले लिएको गतिको कुरा गर्दा कुर्था–बिजलपुरा रेलमार्गको सञ्चालनलाई पनि लिन सकिन्छ । भारतसँग नेपालको जनस्तरको सम्बन्ध छ । यो रेलमार्ग सञ्चालनसँगै विकास साझेदारीले गति लिएको छ । यसको साथै, भारतीय अनुदानमा निर्मिति सामूदायिक विकास परियोजनाको उद्घाटन तथा हस्तान्तरण भैसकेको छ । संखुवासभाको खाँदबारी नगरपालिकास्थित् हिमालय किरण पब्लिक क्याम्पसका लागि निर्मिति क्याम्पस भव यही भदौ २० गते उद्घाटन गरिएको छ ।

सुदुरपश्चिम प्रदेशमा भारतीय सहयोगमा तीन वटा परियोजनाको निर्माण भएको छ । जसमध्ये टिकापुर बहुमुखी क्याम्पस (कैलाली), श्री पशुपति शिक्षा मन्दिर र श्री सिद्धनाथ माध्यामिक विद्यालय (कञ्चनपुर) मा गत भदौ ३१ गते उद्घाटन गरिएको छ । सन् २००३ यता स्थानीय जनताको हितका लागि नेपालका विभिन्न जिल्लामा भारतको सहयोगमा ५४६ वटा परियोजना सम्पन्न भएका छन् । काठमाडौंको चन्द्रागिरीस्थित् श्री विष्णुदेवी माध्यमिक विद्यालयको भवनको पूननिर्माण भएको थियो । जसको उद्घाटन यही २०८० साउन ३० गते गरिएको हो ।

यस्तै, दार्चुला, संखुवासभा र उदयपुरमा शिक्षा, खानेपानी आपूर्ति तथा सरसफाईको क्षेत्रमा चार वटा सामूदायिक विकास परियोजना निर्माणको लागि यही मिति २०८० साउन १९ गते नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्तै, भारतले नेपालका विभिन्न संघ तथा संस्थालाई ३४ वटा एम्बुलेन्स तथा ५० स्कुलबस उपहारस्वरुप प्रदान गरेको छ । हालसम्म भारतले ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहारस्वरुप प्रदान गरेको छ ।

भारतले नेपालको सांस्कृतिक सम्पदाको प्रवद्र्धनको लागि पनि आफ्नो सहयोग पुर्याएको छ । भारतले ललितपुरस्थित् नापीचन्द्र महाविहारको भुकम्पपछिको पूनर्निर्माण गरिदिएको छ । यस्तै, बुढानिलकण्ठ नगरपालिकास्थित् बुढानिलकण्ठ धर्मशालाको पुननिर्माण पनि भारत सरकारले नै गरिदिएको छ । नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धमा सुधार देखिएको कुटनीतिज्ञहरुको भनाई छ । नेपालको विकास र समृद्धिमा भारतको सहयोग निरन्तर रहेकोले आगामी दिनमा भारतले नेपालको हितमा आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot