Logo

वनमन्त्री डा. महतोद्धारा एनएफपिजेको आपत्तकालिन राहत कोषमा व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ नगद सहयोग गर्ने घोषणा



काठमाडौं, ६ असोज । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले समाजमा पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विकृति पनि फैलिएको भन्दै सत्य, तथ्य समाचारको लागि नेपाली पत्रकारिताले योगदान पुर्याउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को २६औं वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री महतोले सामाजिक सञ्जालमा फैलिने गलत र अफवाहपूर्ण सामाग्रीलाई सबैले निरुत्साही गर्नुपर्ने र सधैं सत्य, तथ्य सामाग्रीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन् । मन्त्री महतोले तस्विरको महत्वबारे प्रकाश पार्दै आजका तस्विर भोलिका लागि जिउँदो इतिहास हुने भन्दै फोटो पत्रकारिताको योगदान र महत्व आगामी दिनमा झनै बढेर गएको औंल्याए ।

उनले भने,“हुन त पत्रकारिता राज्यको चौथो अंग हो । यहाँहरुले फोटो पत्रकारिताको माध्यमबाट पुर्याउनुभएको योगदानको जत्तिनै चर्चा गरेपनि कम हुन्छ । तपाईँहरुको पेशाप्रतिको लगाव देखेर म निकै लोभिएको छु । तस्विरबिना सिंगो पत्रकारिता अपूर्ण हुन्छ। तस्विरको महत्व कति छ भन्ने कुरा तस्विर आँफै बोल्छ भन्ने युक्तिबाट नै प्रष्ट हुन्छ । भनिन्छ अ पिक्चर इज वर्थ व थाउजण्ड वड्स ।”

फोटो पत्रकार समाजको ऐना भएको भन्दै फोटो पत्रकारहरुले समाजमा भएका कुरा जस्ताको त्यस्तै देखाउने गरेकोले आगामी दिनमा उनीहरुको भूमिका अझै परिस्कृत भएर जाओस भन्ने मन्त्री महतोको शुभकामना छ । मन्त्री महतोले फोटो पत्रकारिता फिल्डमै खटिनुपर्ने भएकोले जोखिमपूर्ण पेशा भएको उल्लेख गर्दै फोटो पत्रकारहरुले नेपाली पत्रकारितामा पुर्याएको योगदानको पनि प्रशंसा गरे । उनले भने,”तपाईँहरुको योगदानको म हृदयदेखि नै कदर गर्न चाहन्छु । यहाहरुको हकहितको लागि सधैं आफूलाई अग्रपँक्तिमा उभ्याउनेछु । यसै मञ्चमार्फत भन्न चाहन्छु की तपाईँहरुले पर्ने खबैखाले अप्ठ्यारो र चूनौतिमा म साथ दिनेछु ।”

सो क्रममा मन्त्री महतोले एनएफपिजेले अघिल्लो वर्ष स्थापना गरेको आपत्तकालिन राहत कोषमा व्यक्तिगत तर्फबाट पचार रुपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेका छन् । यसका अलावा मन्त्री महतोले वर्तमान सरकार सुशासन र समृद्धिको यात्रामा अघि बढिरहेको बताउँदै सुशासन र समृद्धिको यात्रा नरोकिने प्रतिबद्धता जनाए । उनले भने,”सरकारले सुशासन र समृद्धिको लागि दृढसंकल्पित भएर आफ्नो पाइला चालेको छ । यो सुशासन र समृद्धिको यात्रा रोकिनेवाला छैन् । सुशासन कायम गर्न सरकारले कसैसँग पनि सम्झौता गर्दैन् । सुशासन यो सरकारको पहिलो शर्त हो । तर, हामी विकास र समृद्धिको मामिलामा सबै दलसँग सहकार्य गरेर अघि बढेका छौं ।”

मन्त्री महतोले वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा आफू आएको भर्खरै साँढे तीन महिना भएको उल्लेख गर्दै यो छोटो अवधिमा पनि सुधारको लागि थुप्रै काम भएको दाबी गरे । आफू नेतृत्वको मन्त्रालय विकासको लागि बाधक नभएर साधक बन्ने पनि उनले प्रतिबद्धता जनाए ।

मन्त्री महतोले विश्वका देशहरु आफ्नो देशमा भएका मौलिक साधन र स्रोतलाई परिचालन गरेर समृद्ध बनेको भन्दै नेपालले पनि आफ्नो प्राकृतिक स्रोत र साधनलाई अधिकतम उपयोग गरेर समृद्धि हाँसिल गर्ने विश्वास दिलाए । उनले नेपालको कूल भूभागको ४५ प्रतिशत वनले ओगटेको भन्दै वनलाई अब नेपालको समृद्धिको प्रत्यक्ष आधार बनाएर अघि बढ्ने पनि स्पष्ट पारे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot