Logo

“भूराजनीतिको भार” पुस्तकको अब दोस्रो संस्करण आउने



काठमाडौ, ७ असोज । अनुभवी खोज पत्रकार बाबुराम विश्वकर्माले लेखेको विदेश मामिला सम्बन्धी बहुचर्चित पुस्तक “भूराजनीतिको भार” को दोस्रो संस्करण असोजको दोस्रो सातादेखि बजारमा आउने भएको छ ।

२० साउन २०८० मा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विमोचन गरेको उक्त पुस्तकको पहिलो संस्करण सकिएपछि दोस्रो संस्करण छापिएको हो । दोस्रो संस्करणमा पहिलो संस्करणका तथ्यगत तथा भाषिक त्रुटि सच्याइएको छ । भूराजनीतिको भार प्रकाशन गरेको इन्डिगो इन्कका प्रमुख विष्णुकुमार पौडेलले भने, “भूराजनीतिको भार प्रति छोटो अवधिमा पाठक र शुभेच्छुकहरूले देखाउनुभएको माया र सद्भावप्रति हामी धन्यवाद ज्ञापन गर्दछौं । दशैंको अवसरमा सबै पाठकले भूराजनीतिको भार को त्रुटिरहित दोस्रो संस्करण पढ्न पाउनुहुनेछ ।”

सरल भाषाशैलीमा देशको कोल्टे कूटनीति र विदेश सम्बन्धका गडबडी र विकृतिमाथि आलोचनात्मक समीक्षा गरिएको भूराजनीतिको भार मा पछिल्लो दशकमा नेपाली भूमिमा जारी शक्ति–राष्ट्र (चीन, भारत र अमेरिका) को तानातान र शक्ति–संघर्षको लेखाजोखा गरिएको छ । किताबमा चीनको बहुचर्चित बीआरआई, जीएसआई, रणनीतिक साझेदारी अनि नेपाली नेतृत्वको ढुलमुले प्रवृत्तिको तथ्यपरक विश्लेषण पढ्न पाइन्छ । त्यस्तै किताबमा अमेरिकाको एमसीसी, एसपीपी लगायत एजेण्डामा नेपालले झेलेको विदेशी दबाबको समेत विस्तृत समीक्षा गरिएको छ ।

भूराजनीतिको भार मा चीनका राष्ट्रपति सी जिनपिङको दुईदिने नेपाल भ्रमण र नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनको अवस्था अध्ययन प्रस्तुत गरिएको छ । त्यस्तै भूराजनीतिको भार मा नेपालले झेलेका सीमा विवादको नालीबेली र मिडिया मार्फत अघि बढाएको भूराजनीतिक स्वार्थ र हस्तक्षेप लगायत विविधि मामिलामा चर्चा गरिएको छ ।

नेपालको विदेश सम्बन्धलाई आम नागरिकले बुझ्ने भाषामा लेखिएको उक्त ग्रन्थ भूराजनीतिक मामिलाका अध्येता र सरोकारवालाका लागि समेत उपयोगी छ । भूराजनीतिको भार का लेखक तथा स्वतन्त्र पत्रकार बाबुराम विश्वकर्माले भने, “देशको राष्ट्रिय स्वार्थलाई मुटुमा राखेर भूराजनीतिको भार लेखेको थिएँ । यसप्रति आम पाठक र शुभेच्छुकहरूले दर्शाएको माया र सद्भावले उत्साहित भएको छु । यस अवसरमा म आम पाठक र शुभेच्छुकलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।”

भूराजनीतिको भार का प्रत्येक अध्यायमा कार्टुनिष्ट रविन साय्मिका स्केच राखिएका छन् । यो पुस्तकमा देशले पछिल्लो दशकमा सामना गरेका पेचिला भूराजनीतिक मुद्दाको आलोचनात्मक अध्ययन प्रस्तुत गरिएको छ । पुस्तकको मोटो गाताको मूल्य रु.७९९ र साधारण गाताको रु.५९९ रहेको छ । पुस्तक प्रकाशन तथा बिक्री–वितरण विगत दुई दशकदेखि किताब प्रकाशनमा सक्रिय इन्डिगो इन्क प्रकाशन प्रालिले गरेको छ । इन्डिगो इन्कका अनुसार भूराजनीतिको भार अनलाइन माध्यम र प्रमुख किताब पसलहरूबाट खरिद गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्