Logo

महासमितिमा वैदिक सापेक्ष हिन्दुराष्ट्रको एजेन्डा लैजान्छु : कांग्रेस नेता भण्डारी



काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले आफ्नो पार्टी सरकार वा गठबन्धन परिवर्तनको पक्षमा नरहेको बताएका छन् ।
‘सरकारको विषयमा जनगुनासो छन्, असन्तुष्टि छन् । पार्टीभित्र पनि असन्तुष्टि बढ्दै गएको छ । केन्द्रीय समिति बैठकमा साथीहरुले सरकारको कामकारबाही प्रभावकारी हुनुपर्छ भन्ने धारणा राखेका छन् । तर सरकारको मूल्यांकन गर्दा वा यसका कमीकमजोरीबारे प्रश्न उठ्दैमा सरकार परिवर्तन भइहाल्छ भन्ने छैन । जुन समझदारीमा टेकेर सरकार निर्माण भएको छ, त्यसको आधारमा अघि बढ्नुको विकल्प छैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता भण्डारीले कांग्रेसको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मात्र नभएर पार्टीका मन्त्रीहरुको बारेमा पनि प्रश्न उठेको बताए । उनले भने, ‘पार्टीका साथीहरुले बैठकमा सरकार प्रभावकारी हुनुपर् यो, जनताप्रति जवाफदेही हुनुपर् यो भन्ने कुरा राख्नु सान्दर्भिक छ । बैठकमा प्रधानमन्त्रीको मात्र कुरा होइन, हाम्रै पार्टीका मन्त्रीहरुका बारेमा पनि साथीहरुले कुरा राख्नुभएको छ । लोकतन्त्रमा आलोचना, गुनासो र असन्तुष्टिलाई गम्भीरतासाथ लिनुपर्छ । तर सत्ता फेरबदलको आवश्यकता छैन ।’
वैदिक सनातन हिन्दुराष्ट्र बनाउनका लागि आफूले महासमितिको बैठकमा एजेन्डा लिएर जाने पनि भण्डारीले स्पष्ट पारे । उनले भने, ‘हाम्रो पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको कुरा आत्मसात् नगर्दा पार्टी अप्ठ्यारोमा पर् यो । धर्म, संस्कृतिबिना कुन देश रहन्छ ? पार्टी पनि सिद्धिन्छ, देश पनि बरबाद हुन्छ । म यो मुद्दालाई महासमिति बैठकमा उठाउँछु ।’
संघीयता, धर्मनिरपेक्षता र निर्वाचन प्रणालीका बारेमा संविधान संशोधन गर्नु आवश्यक रहेको पनि भण्डारीले औंल्याए । उनले भने, ‘सबै धर्मप्रति हाम्रो सम्मान छ । तर सोह्रौं शताब्दीदेखि नेपालको भूमिमा इसाईहरु आएर सनातन धर्म विरुद्ध लागेको स्पष्टै छ । सदियौंदेखि सनातन संस्कृतिको प्रचुर आधार भएको हाम्रो जस्तो मुलुक वैदिक सापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ । संघीयताको औचित्य देखिएन । कुनै पनि दलको बहुमत नआउने निर्वाचन प्रणाली चल्न सक्दैन ।’
कांग्रेसमा युवा नेताहरुले सभापतिलाई मात्र दोष दिएर उम्कन नसक्ने पनि भण्डारीले बताए । उनले भने, ‘अहिलेको कार्यसमितिमा शेरबहादुर देउवा सबभन्दा प्रौढ नेता हो । पूर्णबहादुर खड्काबाहेकका हामी सबै जीहरु युवा छौं । तर पार्टी लथालिंग छ । यसको जिम्मेवारी कसले लिने ? सबै दोष सभापतिलाई मात्र लगाएर हुन्छ ?’



प्रतिक्रिया दिनुहोस्