Logo

डाक्टरहरूले पेशा वा देश छाड्नुपर्ने अवस्था आयो : चिकित्सक संघ



काठमाडौं, ९ असोज । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले देशभरिका डाक्टरहरु फेरि आन्दोलित हुनुपर्ने अवस्था आएको बताएका छन् । उनले डाक्टरको पेसागत सुरक्षा नभए पेशा वा देश छोड्नुपर्ने बाध्यता निम्तिने चेतावनी पनि दिए ।
‘नेपाल चिकित्सक संघले आन्दोलन त घोषणा गरिसकेको छैन । तर अब कडा आन्दोलन नगरी होला जस्तो छैन । हेटौंडा घटनापछि पनि डाक्टर र स्वास्थ्यकर्मी कुटिने क्रम रोकिएन । हिजो मात्र लमजुङमा वडाध्यक्षले डाक्टरलाई कुटेका छन् । पोखरामा बिरामी र पुलिस दुवैले डाक्टरहरुलाई कुटेका छन् । चितवनको माडीमा राति डाक्टरहरुलाई घेरा हाले,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने, ‘आफैं असुरक्षित भएर डाक्टरले कहिलेसम्म सेवा दिने ? अब आन्दोलन गर्नेभन्दा पनि पेशा छोड्ने वा देश छाड्नुपर्ने बाध्यता आउन सक्छ ।’
डा. कार्कीले सरकारसँग डाक्टरहरुलाई सुरक्षितपूर्वक काम गर्ने वातावरण दिन माग गरे । नेपाल चिकित्सक संघको आगामी कार्यक्रम के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘डाक्टर साथीभाइ आन्दोलनमा छिरिसके । सरकारले सुरक्षा नदिने र सम्बन्धित प्रहरीलाई कारबाही नगर्ने हो भने हामी कडारुपमा अगाडि आउनुको विकल्प छैन । आजको छलफल गरेर आगामी कार्यक्रम तय गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्