Logo

प्रचण्डलाई पूर्वपरराष्ट्रमन्त्रीको प्रहार : एउटा स्कुलको समझदारी गर्न प्रधानमन्त्री जन्ती लिएर चीन जाने ?



काठमाडौं, ९ असोज । नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पर्याप्त गृहकार्यबिनै चीन भ्रमणमा गएकाले उपलब्धिमूलक हुन नसकेको बताएका छन् ।
‘प्रधानमन्त्रीले १३ बुँदे समझदारी गर्नुभएको छ । कृषि र लाइभस्टकमा के काम गर्ने हो ? विज्ञान प्रविधि र इनोभेसनमा के काम गर्ने हो ? केही खुलेको छैन । हिल्सा–सिमकोट विकासको कुरा धेरै पहिले नै एग्रिमेन्ट भएको हो । गोरखामा उहाँको निर्वाचन क्षेत्रको कुनै स्कूलको प्रोजेक्टमा समझदारी गर्न प्रधानमन्त्रीको नेतृत्वमा चीन भ्रमण गर्नुपर्थे । प्रधानमन्त्रीको नेतृत्वमा गएर त्यस्तो सम्झौता गरिरहनुपर्छ भन्ने मलाई लाग्दैन । अध्ययनबिना विषयवस्तु प्रस्ट नगरीकन कसरी मित्रराष्ट्रको विश्वास आर्जन गर्ने ? ठूलो जन्ती गएर मात्र केही हुनेवाला छैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग चीनका लागि पूर्वराजदूतसमेत रहेका पाण्डेले भने ।
चुच्चे नक्साबारे चीनको के दृष्टिकोण हो भनेर सौहार्दपूर्ण वातावरणमा बलियो तर्क राख्न पनि प्रचण्ड चुकेको पाण्डेको टिप्पणी छ । ‘प्रचण्डले कुनै पनि क्षमता देखाउनुभएको छैन । नेपालीलाई गफ दिने र बाहिरी संसारसामु घुँडा टेक्ने गरिरहनुभएको छ । आफ्नो विगतका गल्ती छोप्नेबाहेक उहाँको अन्य कुनै उद्देश्य छैन,’ उनले थपे, ‘उहाँले सीमाको कुरा चीन जाँदा मात्र होइन, भारतमा जाँदा पनि उठाउन सक्नुभएन । व्यक्तिगत रुपमा त उहाँको सफल भयो होला । पारस्परिक विश्वास, हित र लाभ बढाउने भनी संसद्मै बोलेका कुरामा समेत छलफल भएको देखिएन ।’
प्रधानमन्त्री प्रचण्डले चीनसँग मात्र नभएर अन्तर्राष्टिय जगत्मा विश्वासयोग्य वातावरण बनाउन नसकेको उनले पाण्डेले बताए । उनले भने, ‘प्रचण्ड नेतृत्वको सरकारले भारत, चीन र अमेरिकासँग गरेको व्यवहारले हाम्रो कूटनीति झन् झन् कमजोर अवस्थामा जाने चिन्ता सिर्जना गरिदिएको छ । बीआरआईमा के के योजना अघि बढाउँदा नेपालको हित हुन्छ भन्ने होमवर्क नै पुगेन । आर्थिक क्रियाकलापको बोआओ फोरममा उहाँ जानु भएन । खेलकुद हेर्न गएर उपलब्धि होला भन्ने लाग्दैन । उहाँ खेलकुदको उद्घाटन हेरेर आउने हुनेभो । उहाँले के के ल्याउनुभो, तपाईंले एयरपोर्टमा सोध्नुहोला । नेपालीलाई झुक्काउने कुरामा त उहाँ माहिर नै हुनुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्