Logo

एमाले बागमती प्रदेशको बन्दसत्र आज, नेतृत्वका लागि ढुंगेल र दाहालबीच रस्साकस्सी



काठमाडौं,९ असोज । सोमबारबाट सुरु भएको नेकपा एमाले बागमती प्रदेशको प्रथकम अधिवेशनअन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ ।

सोमबार काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रदेश अधिवेशनको बन्दसत्र भने प्रज्ञा भवन कमलादीमा हुने एमालेले जनाएको छ । सोमबारबाट सुरु एमालेको अधिवेशनलाई अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेका थिए ।

प्रज्ञा भवन कमलादीमा हुने बन्दसत्रमा राजनीतिक, सांगठनिक प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४० सदस्यीय समिति चयन गर्ने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ।

अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट प्रतिनिधि छनोट भएका छन्। अधिवेशनमा नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेको छ। सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ।

नेतृत्व लिन ढुंगेल र दाहालको कसरत

आज सम्पन्न हुने अधिवेशनमार्फत प्रदेशको नेतृत्व लिन आधा दर्जन नेताहरुले आकाँक्षा राखेका छन् । केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालसँगै बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, रचना खड्का र कृष्णभक्त पोखरेलले दाबी गर्दै आएका छन् । अध्यक्षमा दाबी गर्नेको संख्या धेरै भएपनि मुख्यगरि रामेछापका ढुंगेल र मकवानपुरका दाहालबीच नेतृत्व लिन रस्साकस्सी चलिरहेको छ ।

अधिवेशनको उद्धघाटन गर्दै अध्यक्ष ओलीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न र नभए लोकतान्त्रिक पद्धतिबाट कमिटी चयन गर्न निर्देशन दिएका छन् । ओलीले दिएको निर्देशनबमोजिम नेताहरुले सहमतिको अधिकतम प्रयास गरिरहेका छन् । सहमतिबाट नेतृत्व चयनको प्रयास लगभग असफल भएपछि चुनावमार्फतनै नेतृत्व चयनको संभावना बढ्दै गएको एक नेताले जानकारी दिए । उनका अनुसार प्यानल बनाएर उम्मेदवारी दिन नपाईने भएकाले आकाँक्षीहरुले एकल रुपमा मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्