Logo

विद्युत् विस्तारले टेम्केमैयुङवासीको दैनिकीमा सहज



भोजपुर, ९ असोज । केन्द्रीय प्रसारण लाइन विद्युत् विस्तार भएपछि भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमैयुङ गाउँपालिकाका स्थानीयलाई सहजता थपिएको छ । विद्युत्ले स्थानीयको जीवनयापन सहजता भएको हो ।

विगतका वर्षहरूमा सोलार टुकी बत्तीको उज्यालोमा रात कटाउँदै आएका स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्र, उपकरण चलाएर लाभ लिँदै आएका छन् । उनीहरूले अहिले टोलटोलमा कुटानी पिसानीको लागि विद्युतीय मिल राखेका छन् ।

विद्युत् विस्तार भएपछि मझौले चोलन्ती गाउँमा मात्र पाँचवटा विद्युतीय मिल रहेको टेम्केमैयुङ–५ मझौलेका स्थानीय हर्कराज लुइँटेलले जानकारी दिए । विद्युत् विस्तारसँगै स–साना घरेलु उद्योगसँगै मिल सञ्चालनमा आएपछि दैनिकी सहज बनेको उनको भनाइ छ ।

“विद्युत् विस्तारले हाम्रो गाउँमा सहजता थपिएको छ”, उनले भने, “विगतमा धान, मकै, कोदोलगायतका अन्नबाली पिस्नलाई पाँच–छ घण्टासम्म बोकेर लैजानुपर्ने अवस्था थियो । कहिले त दिन नै बित्थ्यो । विद्युत् विस्तार भएपछि टोल–टोलमा मिल सञ्चालन भइरहेका छन् ।”

विद्युत् विस्तार भएपछि विदेशबाट आएर मिल स्थापना गरेर व्यवसाय गर्दै आएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय एकराज विष्टले बताए । गाउँमा सञ्चालन गरिरहेको मिलमा कुटानी, पिसानीको काम गर्दै आएको उनको भनाइ छ । मिलबाट आफूसमेत स्वरोजगार बनेको उनले बताए ।

“लामो समय विदेशमा बसेँ”, उनले भने, “अहिले गाउँमा फर्केर विद्युतीय मिल लगाएको छु । यसले स्थानीयलाई कुटानी–पिसानीका लागि सहजता छ । मिलबाट आफू स्वरोजगार बनेको छु । घर खर्च चलाउने आम्दानी पनि हुन्छ ।”

ठूलो भूगोलसँगै भौगोलिकरूपमा विकट रहेको यो गाउँपालिकाको सबै क्षेत्रमा तीन वर्षअघिबाट विद्युत् बलेको हो । एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जनता विद्युत्को पहुँचमा छन् ।

यहाँका नौवटै वडाहरुमा विद्युत् सेवा विस्तार गरिएको छ । गाउँपालिकाले यस क्षेत्रका दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा समेत विद्युत् बलेको छ । जङ्गलको बीचमा रहेको यो बस्तीका मानिस नेट, इन्टरनेटमार्फत सूचनाको पहुँचमा रहेका छन् ।

वडा नं ४ लुङ्गिनका स्थानीयवासी रामबहादुर राईले आफ्नो ठाउँमा विद्युत् आएपछि दैनिकी सहज बनेको बताए । “दुर्गम क्षेत्रमा पर्ने हाम्रो गाउँमा झलमल्ल विद्युत् बलेको छ”, उनले भने, “अहिले जीवनयापनका लागि सहज छ । अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”

विद्युत् विस्तार भएपछि यस क्षेत्रका स्थानीयवासीमा सूचनाको पहुँचसँगै जीवनयापनमा समेत परिवर्तन आएको स्थानीय नवीन राईले बताए । विद्यार्थीलाई पठनपाठनमा पनि सहज भएको उनको भनाइ छ ।

“विद्युत् विकासको एउटा सूचक पनि हो”, उनले भने, “अहिले हाम्रोजस्तो ठाउँमा इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौँ । हामीलाई सूचनाको पहुँचमा जोडिन सहज छ । बालबालिकाले विद्युत्को उज्यालोमा पठनपाठन गर्न पाएका छन् ।”

यो गाउँबाट गाउँपालिका केन्द्र अन्नपूर्ण तथा अन्य स्थानमा जानका लागि जङ्गलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नुपर्ने हुन्छ । “भौगोलिक हिसाबले यो निकै दुर्गम छ”, उनले भने, “हामी चार पुस्तादेखि यहाँ बसोबास गरिरहेका छौँ । यो ठाउँमा राज्यको आँखा पर्न सकेको थिएन । अहिले विकासको अनुभूति गर्न पाएका छौँ ।”

वर्षौँदेखि अँध्यारोमा बस्दै आएका वडा नं २ छिनामखुको रुमला पञ्छीका स्थानीयवासीले पनि विद्युत् उपभोग गरिरहेका छन् । उनीहरूले विद्युत् आएपछि विद्युतीय मिलको सहायताले कुटानी पिसानी गरिरहेका छन् । विभिन्न फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा जोडिएको स्थानीय फुर्तेन्जी शेर्पाले बताए ।

विद्युत् विस्तारको काम पूरा भएकाले अब यहाँको अन्य भौतिक विकासका क्षेत्रमा काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । सडक विस्तारसँगै गाउँपालिकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।

“हाम्रो गाउँपालिकामा पूर्णरूपमा विद्युतीकरण भइसकेको छ”, उपाध्यक्ष राईले भनिन्, “हामीले अब यहाँका अन्य क्षेत्रको विकासमा योजनाबद्धरूपमा काम गरिरहेका छौँ । टेम्केमैयुङलाई समृद्ध बनाउने हाम्रो लक्ष्य छ ।” टेम्केमैयुङलाई २०७७ सालको कात्तिक महिनामा उज्यालो गाउँपालिका घोषणा गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot