Logo

एमालेको नजरमा रास्वपाः ‘न मास न क्याडर्स’, अन्य पार्टी को कस्ता ?



काठमाडौं,९ असोज । नेकपा एमाले बागमती प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राजनीतिक र वैचारिक दृष्टिकोण विहीन, द्विविधाग्रस्त सांगठनिक चिन्तन भएको पार्टी चित्रण गरेको छ ।

सोमबारबाट सुरु भएको एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्रमा राजनीतिक दस्तावेज प्रस्तुत गर्दै बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले रास्वपालाई मास र क्याडर्स दुबै नभएको पार्टीको रुपमा चित्रण गरेका छन् ।

एमालेले रास्वपालाई ‘राजनीतिक र वैचारिक दृष्टिकोण विहिन, द्विविधाग्रस्त सांगठनिक चिन्तन (न मास पार्टी न क्याडर्स पार्टी) अर्थ राजनीतिक दृष्टिकोणमा अस्पष्ट हुँदाहुँदै उदारवादी पूँजीवादलाई आर्थिक नीतिको रूपमा स्विकार गर्ने । राष्ट्रियता र परराष्ट्र नीतिमा अस्पष्टता, तत्कालिन लाभको लागि उत्तेजक कार्ड फ्याक्ने, स्थापित मूलधारको पार्टी र तिनीहरूको विरूद्धमा गलत अभियान चलाउने, जनमतलाई स्थापित पार्टीको विरूद्ध भड्काएर आफूतिर आकर्षण गर्ने । असम्भव विषयमा राजनीतिक जनमत बनाउन र समस्याको उठानमा सफल तर समाधानको विकल्प दिन नसक्ने शक्तिको रूपमा रहेको’ उल्लेख गरेको छ ।

एमालेको नजरमा अन्य पार्टी को कस्ता ?

राष्ट्रिय प्रजातन्त्र पार्टी

एमाले बागमती प्रदेशले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई राजनीतिक नेतृत्वमा वंश परम्पराको सामन्ती संस्कृतिलाई वैचारिक स्रोत मान्ने, राजतन्त्रलाई पुनर्स्थापना गर्न चाहने पश्चगामी विचारका संवाहक, धर्मलाई राजनीतिक अस्त्र बनाउने हिन्दुत्वको पक्षपोषण गर्ने पार्टीको रुपमा उल्लेख गरेको छ ।

अध्यक्ष पाण्डेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ । ‘राजनीतिक नेतृत्वमा वंश परम्पराको सामन्ती संस्कृतिलाई वैचारिक स्रोत मान्ने, राजतन्त्रलाई पुनर्स्थापना गर्न चाहने पश्चगामी विचारका संवाहक, धर्मलाई राजनीतिक अस्त्र बनाउने हिन्दुत्वको पक्षपोषण गर्ने । आर्थिक उद्धारवादको नाममा वित्तीय एकाधिकार पूँजीवादको आत्मसात गर्ने । भारतीय हिन्दुवादीहरूको वैचारिक नेतृत्वलाई स्वीकार गर्ने । सामन्ती जमिन्दार र पूँजीपतीको पक्षपोषक गर्दै यथास्थितिवादी र पुर्नोत्थानवादी विचार बोक्ने पार्टीहरूमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ’ ।

माओवादी केन्द्र

एमालेले सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रलाई उग्रवामपन्थी धारको प्रतिनिधित्व गर्ने पार्टी, राजनीतिमा सधैं अस्थिरता, अस्पष्ट र अवसरवादी, सत्ताको लागि जे पनि गर्ने पार्टी भएको दाबी गरेको छ ।

माओवादीको दोहोरो चरित्रको कारण कोशी प्रदेशमा जातीय सम्प्रादयिकता बढेको छ। वैचारिक र सैद्धान्तिक क्षेत्रमा ढुलमुले पात्र, दक्षिणपन्थताको यात्रा, जातीय, क्षेत्रीय र अतिवादको विजारोपणको लागि जिम्मेवार भएको उल्लेख गरेको छ । एमालेले माओवादी केन्द्रले स्वयंले अन्योल तय गरेको , शान्तिपूर्ण धारमा रूपान्तरित भएर पनि नीतिगत अस्पष्टताका कारण मुलुकमा र दिशाहिनता र वैचारिक संकटमा पर्दै गएको, वामपन्थी ताकतमा भन्दा दक्षिणपन्थी ताकतसँग सम्झौंतामा रमाइरहेको उल्लेख गरेको छ ।

नेकपा एकीकृत समाजवादी

अध्यक्ष पाण्डेले एमालेबाट टुक्रिएर गएको नेकपा एकीकृत समाजवादीलाई राजनीतिक र वैचारिक धार अस्पष्ट र ढुलमुले भएको उल्लेख गरेको छ । एमालेले भनेको छ ‘एकीकृत कम्युनिष्ट आन्दोलनलाई विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पय रूपमा जन्मिएको यस पार्टीले प्रत्यक्ष अप्रत्यक्ष देशी(विदेशी प्रतिकृयावादी राजनीतिक पार्टीलाई सेवा गरी दक्षिणपन्थी गठबन्धनको सेवामा नतमस्तक भएर सामेल भएको छ भने मूलधारको कम्युनिष्ट पार्टी नेकपा (एमाले) विरोधी मोर्चाबन्दी गरिरहेको छ ।’

एमालेले राष्ट्रिय जनमोर्चालाई पनि बोली र नारामा उग्रता भएको तर व्यवहार र कार्यशैलीमा दक्षिणपन्थी शक्तिको सेवा गरिरहेको पार्टी भनेको छ ।

नेपाली कांग्रेस

एमाले बागमतीले प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेसलाई पूँजीपती वर्गको प्रतिनिधित्व गर्ने मूलतः ‘वर्ग चरित्र दल पूँजीवादी’ पार्टी भनेको छ । ‘आर्थिक सोच वित्तीय एकाधिकारी नवउद्धारवादी चिन्तनको पक्षपोषण गर्दछ । सङ्कीर्ण वर्ग चरित्रको कारण सम्झौंता परस्त, राष्ट्रियताको सवालमा ढुलमुले र वाह्य शक्तिसँग साँठगाँठ गरी संसयकारी भूमिका निर्वाह गर्ने गर्दछ । कम्युनिष्टसँग नकारात्मक भाव राख्ने, सत्तामा पुग्दा सर्वसत्तावादी सोच राख्दछ। जनताको सामाजिक, सांस्कृतिक अधिकारप्रति अनुदार, ठुला पूँजीपती वर्गको रक्षक । वि.सं। २०४६ को आर्थिक उदारवादको नीति लिएका कारण अहिले आर्थिक विषमता, सार्वजनिक क्षेत्रमा राज्यको लगानी कटौती, किसानहरूलाई सिमान्तीकरण, मुलुकमा द्वन्द्वको विजारोपण, सत्तामा हुँदा अधिनायकवादी र सत्ताबाहिर अस्थिरताको कारक बन्दछ । नेकपा (एमाले) प्रति सदैव द्वेष र वैरभाव राख्ने नेपाली कांग्रेसको कारण पटकपटक प्राप्त प्रजातन्त्र समेत गुमेको छ’ । अध्यक्ष पाण्डेले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्