Logo

संसद्मा दर्ता भएको शिक्षा विधेयकबारे कांग्रेसले गर्‍यो सरोकारवालासँग छलफल



काठमाडौं,९ असोज । नेपाली कांग्रेसले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि सरोकारवालासँग छलफल गरेको छ । मंगलबार कांग्रेसले आफ्नो पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसदसहित सरोकारवाला पक्षसँग छलफल गरेको हो ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छलफलमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतका सांसद उपस्थित छन्।

छलफलमा नेपाल शिक्षक महासंघ र घटक संस्था, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन), सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाललायतका संस्थाका प्रमुख र प्रतिनिधि पनि सहभागी छन्।

कांग्रेले असोज ४ बाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा असोज ९ गते संसदीय दलको बैठकमार्फत उक्त विधेयकबारे छलफल गर्ने निर्णय गरेको थियो । कांग्रेसले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौं केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो। राहत शिक्षकहरू भने अहिले पनि आन्दोलनमै छन्। सो विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने अब बस्ने संसद्को बैठकमा प्रस्तुत हुनेछ।



प्रतिक्रिया दिनुहोस्