Logo

बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवलदारको मृत्यु



बैतडी, असोज १०। बैतडीमा गाडीको ठक्करबाट एकजना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका ८ हरिचन घर भई बाजुरामा कार्यरत हवलदार ४० बर्षीय नरेन्द्रसिंह महरा रहेका छन् ।

दशरथचन्द राजमार्ग अन्तर्गत घर नजिकैको हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेका महरालाई गाडिले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
बाजुराबाट घर आएका महरा खोड्पे बजारबाट हिँडेर घरमा आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बुझिएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन ।

महराको शव बीच सडकमै रहेको जिल्ला समन्वय समिति सदस्य प्रेमसिंह भाटले जानकारी दिए । अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । मृतकका आफन्तहरुले दोषीको पहिचान नहुँदा सम्म गाडी चल्न नदिने चेतावनी दिएका छन् ।

अहिले तराइबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरू बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्