Logo

प्रचण्डमा राष्ट्रिय हितभन्दा शक्तिकेन्द्रको मुख ताक्ने प्रवृत्ति छ : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण औपचारिकतामा सीमित भएको टिप्पणी गरेका छन् ।
‘चीनसँग जुन १२ बुँदे सहमति र एउटा लेटर अफ एक्सचेन्ज भयो, त्यसलाई हेर्दा प्रधानमन्त्रीको भ्रमण औपचारिकतामा सीमित भएको देखिन्छ । ती बुँदा प्रधानमन्त्रीको तहमा गर्नुपर्ने कुरा होइनन् । संयुक्त वक्तव्यमा पनि मूर्त खाका देखिँदैन । भ्रमणमा जानुअघि उहाँले संसद्मा जे जे प्रतिबद्धता जनाउनुभएको थियो, त्यसको सापेक्षतामा भ्रमण उपलब्धिपूर्ण र परिणाममुखी भएको देखिँदैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रधानमन्त्री प्रचण्डमा राष्ट्रिय हितभन्दा शक्तिकेन्द्रको मुख ताक्ने प्रवृत्ति रहेको आरोप पनि ज्ञवालीले लगाए । उनले भने, ‘पहिलो कुरा त प्रचण्ड गोलचक्करमा परिरहनुभएको छ । उहाँको मन्त्रिपरिषद्मै समस्या छ । चीनसँगको सम्बन्ध कसरी अघि बढाउने भन्नेबारे मन्त्रिपरिषद्मा नै मतैक्यता छैन । उहाँ कहिले भारतसँग असाध्यै नजिक हुनुहुुन्छ, कहिले अमेरिकालाई खुसी बनाउन खोज्नुहुन्छ । राष्ट्रिय हितभन्दा शक्तिकेन्द्रको मुख ताक्ने प्रवृत्ति उचित होइन । शक्तिकेन्द्रहरुले उहाँलाई चीनसँगको सम्बन्धको प्रगाढ नबनाउन भूराजनीतिक दबाब दिएको संकेत बुझिन्छ ।’
बीआरआई कार्यान्वयनमा प्रधामन्त्री प्रचण्डमा दृढ इच्छाशक्ति नदेखिएको पनि ज्ञवालीले औंल्याए । उनले भने, ‘सन् २०१७ मा प्रचण्ड प्रधानमन्त्री हुँदा नै बीआरआई सहमतिपत्रमा हस्ताक्षर भएको हो । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदा यसलाई अघि बढाउने प्रयास भयो । तर कोभिड, सरकार परिवर्तन लगायतका कारण रोकियो । अहिले प्रचण्डमा दृढ इच्छाशक्ति नै देखिएन । ऊर्जा व्यापार सम्झौता गर्ने कुरा थियो, भ्रमण टोलीमा ऊर्जामन्त्री नै भएनन् । त्यसैले चिनियाँ सहयोगका ठोस प्रगति भएनन् । त्यसले चीन र नेपाल सम्बन्धमा केही प्रश्न र संशय पैदा भएका छन् । अहिले भएका सम्झौतालाई उपलब्धिमूलक मान्न सकिँदैन । यी सबै तपसिलका कुरा हुन् । मूर्त र लाभान्वित हुने कुरा छैनन् ।’
चीनसँग सडकसञ्जाल, रेल यातायात र ६ वटा नाका सञ्चालन जरुरी रहेको पनि उनले बताए । ज्ञवालीले भने, ‘नेपालजस्तो भूपरिवेष्ठित मुलुकका लागि रेलवे निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले भारत र चीनसँग रेलवे सम्पर्क सञ्जाल विकसित गर्नुपर्छ । सीमा वारपारका लागि सडकसञ्जाल पनि जरुरी हुन्छ । अहिले भएका रसुवागढी र तातोपानीबाहेक किमाथांका, ओलाङचुङगोला, कोरोला र हिल्सा नाका खोल्नुपर्छ । सम्भव भयो भने टिंकर नाका पनि खोल्नुपर्छ । त्यसो भयो भने चीनसँगको आवतजावत र व्यापार बढ्छ ।’
प्रचण्ड नेतृत्वको सरकार असफल भए पनि नेकपा एमाले सरकार परिवर्तनको खेलमा नलागेको ज्ञवालीले दाबी गरे । उनले भने, ‘यो सरकार जति दिन रहन्छ, मुलुक चौतर्फी संकटमा धकेलिँदै जान्छ । सरकार आफैं अग्रसर भएर सामाजिक सद्भाव खलबलाउन लाग्यो । प्रधानमन्त्री नै मलाई बहुमत देऊ, म जातीय राज्य दिन्छु भन्नुहुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण हुँदा टुलुटुलु हेरेर बस्यो । कांग्रेसका सहमहामन्त्रीमाथि दिनदहाडै खुुकुरी प्रहार भयो । धरान, मलंगवामा त्यसको असर देखा परेको छ । डाक्टरहरु कार्यस्थलमै असुरक्षित छन् । यसले सरकार छ कि छैन भन्ने प्रश्न उठेको छ । सरकार जताततै असफल भएको छ । तर एमाले अहिले सरकार परिवर्तनभन्दा पनि संगठन सुदृढीकरण र बलियो राष्ट्रिय शक्ति निर्माणमा लागेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot