Logo

राष्ट्रको पहिचान, सम्मान र गरिमा अभिवृद्धि गर्न खेलकुदको विकास अपरिहार्य : मन्त्री बस्नेत



काठमाडौं, असोज १० । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले राज्यले ध्यान दिन नसक्दा खेल क्षेत्र अप्ठेरो अवस्थामा रहेको बताएका छन् । राजधानीको खरिबोट १६, बनस्थलीमा मंगलबारदेखि सञ्चालनमा आएको माउण्टेन मुवा थाई एण्ड जिम प्रा. लि. को उद्धघाटन कार्यक्रममा बोल्दै उनले उमेर, बल, पाहुरा र रगत रहुन्जेल मात्रै खेल्नुपर्ने अवस्था र खेल क्षेत्रलाई राज्यले ध्यान दिन नसकेका कारण खेल क्षेत्र अप्ठेरो अवस्थामा रहेको बताएका हुन् ।

राष्ट्रको पहिचान, सम्मान र गरिमा अभिवृद्धि गर्न पनि खेलकुदको विकास अपरिहार्य रहेको बताउँदै उनले संसारभर राष्ट्रिय झन्डा पहराउन यो भन्दा उत्तम माध्ययम अरु हुन नसक्ने समेत दाबी गरे । खेलकुदका माध्यमबाट लुकेर बसेको प्रतिभाको खोजी गर्दै किर्तिमानी खेलाडीको उत्पादनमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ ।

विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नसकिने बताउदै उनले भने, “खेलकुदमार्फत नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित जीवनयापनमा सघाउ पुग्नेछ । अहिले देशभर खेलकुदका क्रियाकलापहरु भइरहेका छन् । तर त्यसलाई थप परिस्कृत तरिकाले लैजान आगामी दिनहरुमा खेल क्षेत्रको थप विकास र उत्कृष्ठ खेलाडी उत्पादनमा लाग्न आवश्यक छ ।’

बल र बुद्वि भएका खेलाडीले खेल र अध्ययनलाई पनि साथसाथै लैजानु पर्ने बताउँदै उनले नियमित शारिरीक अभ्यासमार्फत राज्यको पहिचानलाई बढाउन खेल क्षेत्रको उत्तिकै महत्व रहेको जनाए । राज्यको पहिचान बढाउन र युवाहरुलाई खेल प्रति आर्कर्षित गराउँदै खेलाडीलाई गहनाका रुपमा परिचित गराउन यस्ता मञ्चहरुको भूमिका सबै भन्दा माथी रहने मन्त्री बस्नेतको भनाई छ । खेल क्षेत्रको बिकासले राष्ट्रको नामसँगै व्यक्तिको नाम र प्रतिष्ठालाई जोड्ने भएकाले हरेक मानिसहलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ राख्न समेत खेल क्षेत्रको भूमिका उत्तिकै रहेको उनले बताए ।

खेलकुद क्षेत्रको स्थानीयस्तरबाटै विकास हुन आवश्यक रहेको जनाउँदै उनले युवाहरुलाई अनुशासित, आत्मनिर्भर बनाउदै समाजको समृद्धिका लागि खेल क्षेत्रको अनिवार्य विकास हुन आवश्यक रहेको बताए ।

माउण्टेन मुवा थाई एण्ड जिमका सञ्चालक शंकर धमलाले खेललाई मनोरन्जन् साथै ब्यबसाहिक रुपमा अगाडि बढाउन प्रेरणा जगाउन र देशको लागि अब्बल खेलाडिहरु जन्माउने उदेश्यले यस व्यवसायमा लागेको बताए । माउण्टेन मुवा थाई एण्ड जिमको सञ्चालनले खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहनका साथै वृत्तिविकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे

पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुले राम्रो प्रर्दशन गर्दै आएको जनाउँदै उनले यो मञ्चले खेलाडीलाई हौसला मात्रै नदिई अथक मेहेनत र परिश्रमको अनुभूति गराउने जनाए। लक्ष्य प्राप्तिका लागि एकआपसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने अहिलेको नेपाली खेलकुदमा यस्ता भौतिक पूर्वाधारले थप बल पुग्ने उनको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्