Logo

चलचित्र भवनमा ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’



काठमाडौँ, १० असोज । दुई नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ दोस्रो सातामा प्रदर्शनरत छन् । दुवै चलचित्रले सन्तोषजनक व्यापार गरिरहेका छन् । नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’मा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।

“एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्”, उनले भने । चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन् ।

सुनिलकुमार थापाले निर्माण गरेको उक्त चलचित्रमा निर्देशक झरना थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाँङ्कन, मित्र डी गुरुङले सम्पादन तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘नाङ्गो गाउँ’मा समाजलाई परिवर्तन गर्न राजनीतिको आवश्यकता र गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ । “हामीले नेतामात्र नभइ नेता छान्ने जनतालाई पनि प्रश्न गर्ने बेला भएको छ, त्यसको सुरुआत यस चलचित्रमा गरिएको छ”, निर्देशक लामाले भने, “यसमा सामाजिक र राजनीतिक परिवेशलाई उजागर गरिएको छ, हाम्रो समाजको राजनीतिक ज्ञान र त्यसको प्रभाव, समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने यसमा देखाइएको छ ।” उनले पहिलो सातामा चलचित्रले राम्रो व्यापार गरेको जानकारी दिए

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् । यसको कथा स्वयं निर्देशक लामाले लेखेका हुन् । रासस



प्रतिक्रिया दिनुहोस्