Logo

बागमतीमा पनि लागु भएन ओलीको उर्दी, अध्यक्षमा ढुंगेल र दाहाल भिड्ने



काठमाडौं,१० असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन जारी छ । सोमबार काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेको अधिवेशन भोलि नेतृत्व चयन गरेर सकिँदैछ ।

भोलि सम्पन्न हुने प्रदेश अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवगरि ५ जनाको पदाधिकारी र २४० जनाको कार्यसमिति चयन गर्नेछ । त्यसका लागि प्रदेशमा रहेका १३ वटै जिल्लाबाट १२ सयको हाराहाीमा महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

एमालेले वर्ष २०८० को असोज महिनालाई प्रदेश अधिवेशनको महिनाको रुपमा उल्लेख गरेर सातै प्रदेशमा अधिवेशन सम्पन्न गर्दैछ । गत भदौं १६ र १७ मा लुम्बिनीको अधिवेशन सम्पन्न भइसकेको छ । भने, आजैबाट कर्णाली प्रदेशको अधिवेशन पनि सुरु हुँदैछ । एमालेले सर्वसम्मत रुपमा नेतृत्व चयनलाई पहिलो प्राथमिकताको रुपमा राखेको छ । अध्यक्ष ओलीले सबै प्रदेशमा सर्वसम्मतरुपमा नेतृत्व चयन गर्न निर्देशन दिँदै आएका छन् ।

ओलीले दिएको उक्त निर्देशन भने पछिल्लो समय पार्टीमा कार्यकर्ताले नमान्ने अवस्था सिर्जना भएको छ । गत भदौंमा सम्पन्न लुम्बिनी अधिवेशनमा पनि ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । उनले पार्टी सचिव तथा प्रदेश ईन्चार्ज पद्या अर्याललाई सहमतिमा प्यूठानका हरिप्रसाद रिजाललाई अध्यक्ष बनाउने वातावरण तय गर्न निर्देशन दिएको एक नेता बताउँछन् । त्यहीकारण लुम्बिनीमा अध्यक्ष ओलीले इञ्चार्ज पद्मा अर्याललाई सुझाव दिइसकेको र मिलेर जानुहोस् भन्ने सन्देश प्रवाहित गरेका थिए । ओलीको उक्त सन्देश चाहिँ खासमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच बनेको गुटमा आधारित चुनावी प्रतिस्पर्धा हुने भएकोले त्यसलाई रोक्नका लागि थियो । लुम्बिनीको त्यही सन्देश अन्य प्रदेशमा पनि सरेको छ ।

ओली र महासचिव शंकर पोखरेलले सर्वसम्मत रुपमा रिजाललाई अध्यक्ष बनाउन चाहेपनि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेलले आफ्नो दाबी नछोडेपछि अन्नतः निर्वाचनबाटै प्रदेशको नेतृत्व चयन भएको थियो । जसमा कँडेल पक्षले एक उपसचिव बाहेक प्यानलै जित हात पारेको थियो । प्रदेश अध्यक्षमा विजयी कँडेललाई उार्टी उपाध्यक्ष विष्णु पौडेलले समर्थन गरेका थिए ।

एमालेभित्र अध्यक्ष ओलीका अत्यन्तै निकट नेताका रुपमा चिनिने उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीच नेतृत्वका लागि निक्कै रस्साकस्सी चल्ने गरेको छ । जसको उदाहरण लुम्बिनीमा देखिएको थियो । एमाले अध्यक्ष अ‍ोलीको चाहाना विपरित निर्वातन भएको लुम्बिनीकै जस्तो हबिगत बागमतीमा पनि दोहोरिने निश्चित भएको छ । ओलीले बागमतीको अध्यक्षमा सर्वसम्मतरुपमा रामेछापका कैलाश ढुंगेललाई बनाउन चाहेका छन् । तर, अन्य आकाँक्षीहरुले आफ्नो अडान नछाडेपछि निर्वाचनबाटै प्रदेशको नेतृत्व चयन हुने लगभग निश्चित भएको छ ।

अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा हुने

एमाले बागमतीको अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने भएको छ । दुई नेताबीच सहमति नजुटेपछि स्वस्थरुपमा प्रतिस्पर्धा हुने बताईएको छ । ढुंगेल बागमती प्रदेशका पूर्व अर्थमन्त्री हुन् भने दाहाल मकवानपुरबाट तीन पटक संघीय सांसद निर्वाचित भएका थिए । उता प्रदेश अध्यक्षमा दाबी गरिरहेका चितवनका पूर्व सांसद कृष्णभक्त पोखरेलको पनि चर्चा चलिरहेको छ । तर उनले उम्मेदवारी दर्ता गर्ने नगर्नेबारे निश्चित भईसकेको छैन् ।

बागमतीमा कैलाश ढुंगेल, केशव पाण्डे, कृष्ण दाहाल र कृष्णभक्त पोखरेललागयतका नेताहरूले आकांक्षा राखेका थिए । पोखरेल भने ढुंगेललाई अध्यक्ष बनाउन लागिपरेका र त्यसमा ओलीको पनि सहयोग रहेको एमाले नेताहरू बताउँछन् । पोखरेल त्यसको माहौल बनाउन सक्रिय रहेको एमाले स्रोतको भनाइ छ ।

उनी उनी संघीय संसदको निर्वाचनमा भने चारपटक हारेका थिए । यसबारेमा पोखरेलले पोलिटब्युरो सदस्य तथा काभ्रे इन्चार्ज गोकुल बास्कोटासँग पनि छलफल गरेका छन् । तर, बास्कोटाबाट पोखरेलले ग्रिन सिग्नल भने पाउन नसकेको बताइएको छ । एमालेमा बास्कोटा पौडेलनिकट मानिन्छन् । पौडेल गुटबाट दाहाल अध्यक्षका दाबेदार हुन् । पौडेल र बास्कोटा दाहाललाई अध्यक्ष बनाउन सक्रिय छन् । दाहाल मकवानपुरबाट २०४८, २०५१, २०५६, २०७४ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए । २०५१ सालमा कमल थापासँग चुनाव हारे पनि अरु चुनाव जितेका थिए ।



प्रतिक्रिया दिनुहोस्