Logo

अफ्रिकी राष्ट्र ग्याबोनले अमेरिकी सहयोग नपाउने



वासिङ्टन, १० असोज । संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र ग्बोनलाई सहयोग नगर्ने घोषणा गरेको छ ।

बाडेन प्रशासनले मङ्गलबार ग्याबोनलाई सबै किसिमका मानवीय सहायता निलम्बन गरिएको घोषणा गरेको हो । निजेरपछि मानवीयलगायत अमेरिकी सहयोग नपाउने देशको सूचीमा अब ग्याबोन पनि परेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि सहायता कटौती गर्ने यो अन्तरिम उपाय अवलम्बन गरिएको विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । मध्य अफ्रिकी मुलुकका साथै अफ्रिकी सङ्घ र अन्य अन्तरराष्ट्रिय साझेदारहरूको आर्थिक समुदायले अवलम्बन गरेका नीतिअनुरुप सहायता स्थगनको निर्णय गरिएको उनले स्पष्ट गरेका छन् ।

“हामी ग्याबोनमा अमेरिकी नागरिकहरूलाई सहयोग गर्ने कूटनीतिक एवं ‘कन्सुलर’ सेवालाई निरन्तर सञ्चालन गर्नेछौँ” विदेशमन्त्री ब्लिन्केनले एक विज्ञप्ति निकालेर भनेका छन् । ग्याबोनका नेता अलि बोङ्गो ओन्डिम्बालाई पदच्युत गरिएको तथा सैन्य सत्ता लागू गरिएको विषयमा समीक्षा गर्न बाँकी रहेको उनले विज्ञप्तिमा बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्