Logo

राहत शिक्षकहरूको आन्दोलनमा पुगेर के भने ऋषि धमलाले ? (भिडिओसहित)



काठमाडौं, १० असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले संसद्मा दर्ता भएको शिक्षा विधेयकको विरोधमा काठमाडौंको माईतीघरमा आन्दोलनरत शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

आज (बुधबार) आन्दोलनरत शिक्षकहरुलाई भेटेर सभापति धमलाले आन्दोलनमा समर्थन जनाएका हुन् । आन्दोलनमा समर्थन जनाउँदै धमलाले शिक्षकको आन्दोलनलाई आमसञ्चार क्षेत्रले समर्थन गरेको बताए ।

‘आन्दोलनरत तपाईंहरुको माग पुरा गराउन हामी सबै सञ्चारकर्मीहरु लागि परेका छौं । नेपालमा शिक्षकहरुले गरेको आन्दोलन र शिक्षकले खेलेको भूमिका अविस्मरणीय छ । नेपालमा भएका ठूला राजनीतिक र सामाजिक परिवर्तनमा शिक्षकहरुको अहम भूमिका रहेको छ ’।-सभापति धमलाले भने । ‘शिक्षकहरु एकजूट भएर लाग्नुपर्छ । तपाईंहरु राहात शिक्षकले उठाएको मागप्रति देशैभर समर्थनको आवाज बढिरहेको छ । राहात शिक्षकहरुले उठाएका मागहरु जायज छन् । उक्त मागहरु पूरा हुनुपर्छ । राजनीतिक दलहरुले संवेदनशील बनेर यो विषयलाई टुंगोमा पुर्याउनुपर्छ । वार्ताको माध्ययमबाट निकास दिनुपर्छ । राज्यले संवाद र सहमतिबाट तत्काल शिक्षकहरुलाई विद्यालयमा फर्काउने वातावरण बनाउनुपर्छ’ ।

धमलाले राहत शिक्षकले उठाएको मुद्दा राष्ट्रियकरण भएको बताउँदै सरकराले उचित पहल गरेर विद्यार्थीहरुको प्रभावित बनेको शैक्षिक गतिविधिलाई सहज बनाउनुपर्नेमा जोड दिए । उनले आन्दोलनरत शिक्षकहरुमाथि प्रहरीले गरेको दमन र हस्तक्षेपप्रति आपत्ति जनाए । उनले समस्याको समधान हस्तक्षेप र दमन नभएर वार्ता र सहमति भएको बताउँदै सरकरालाई वार्ताको लागि अग्रसरता लिनसमेत आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्