Logo

प्रचण्ड र व्यवस्था दुवैको विकल्प खोजेका छौं : सीपी गजुरेल



काठमाडौं, ११ असोज । नेकपा (क्रान्तिकारी माओवादी) का शीर्ष नेता सीपी गजुरेलले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेकाले जनताले यसको विकल्प खोजेको बताएका छन् ।
‘संविधान बनेको पनि आठ–आठ वर्ष भैसक्यो । अहिलेको व्यवस्थाले निकास दिँदैन भनेर हामीले भनेको कुरा प्रमाणित भयो । न राष्ट्रिय स्वाधीनता, न विकास, न त समृद्धि । व्यवस्था नै असफल भयो । धैर्यको पनि एउटा सीमा हुन्छ । जनताले प्रतिफलका निम्ति कहिलेसम्म पर्खेर बस्ने ? जनताले व्यवस्थाको विकल्प खोजिरहेका छन्,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता गजुरेलले व्यवस्थाको आमूल परिवर्तनको एजेन्डा अघि बढाउनुपर्ने बाध्यता भएको पनि औंल्याए । उनले थपे, ‘यो व्यवस्थाले बरबादीबाहेक केही दिएन । हरेक चिजको विकल्प हुन्छ । हाम्रो तर्फबाट त विकल्प अघि सारेकै छौं । हामीले ल्याउन खोजेको जनगणतन्त्र हो । प्रचण्ड–बाबुरामले आत्मसमर्पण गरेकाले लोकतान्त्रिक गणतन्त्र आयो । हामीले चाहेको व्यवस्था ल्याएको भए अहिलेको अवस्था आउने नै थिएन ।’
मुलुकले नै विकल्प खोजिरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प नहुने कुरा नभएको पनि उनले बताए । गजुरेलले भने, ‘मुलुकको अवस्था विकराल हुँदै गएकाले अब हामी सबै मिलेर विकल्प दिनुपर्छ । हामीले प्रचण्डको पनि विकल्प खोजेको हो । व्यवस्थाको पनि विकल्प खोजेको हो । यथास्थितिमै रुमल्लिएर भ्रष्टाचारको गीत गाएर कति बस्ने ? अब प्रचण्डले समृद्धि ल्याउने कल्पना नगरे पनि हुन्छ ।’
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा बीआरआई कार्यान्वयनको ठोस योजना नआएको भन्दै उनले आलोचना गरे । गजुरेलले भने, ‘चीन भ्रमणमा उल्लेखनीय कुरा केही भएजस्तो लागेन । प्रचण्डलाई चिनियाँ भूमिको सातदिने घुमघामले नै पुग्या जस्तो देखियो । चीनले दिल खोलेर सहयोग गर्ने अपेक्षा थियो । प्रचण्डले बीआरआईमै जोड दिनुपर्थ्र्यो । त्यो अघि बढेको भए उपलब्धि मान्न हुन्थ्यो । नेपाली जनताले पाउने केही पनि छैन । हात्ती आयो हात्ती आयो फुस्सा ।’
प्रचण्डले त आफ्नो भ्रमण ऐतिहासिक रुपमा सफल भएको टिप्पणी गर्नुभएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘मेरो भ्रमण असफल भयो त कसले भन्छ र ? हामीले भनेको सुन्दै सुनेन त कसले भन्छ र ? जसले भ्रमण गरे पनि सफलै भयो, राम्रै भयो भन्छन् । त्यसमाथि पनि प्रचण्ड । नभएकोलाई त हो भनेर प्रचार गर्ने मान्छे ।’
आफ्नो पार्टी शक्तिसञ्चयमा लागेको दाबी पनि उनले गरे । गजुरेलले भने, ‘मुलुकमा सत्ताको राजनीति नै चल्तीमा छ । हाम्रो आफ्नो शक्ति बलियो छैन । पार्टी फुटेर टुक्राटुक्रा भएकाले हामी शक्ति सञ्चय गर्न लागेका छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot