Logo

एनआरएनएको अध्यक्षमा आरके शर्माको उम्मेदवारी, यस्ता छन २४ महिनाका २४ बाचा



कतार, असोज ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–०२५ का लागि वर्तमान उपाध्यक्ष राजेन्द्र कुमार (आर के) शर्माले कर्मभूमि कतारबाट औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मुल नारासहित शर्माले आफ्नो २४ महिने कार्यकालमा २४ काम गर्ने बाचा गरेका हुन् ।

उनले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको जानकारी दिए ।

आफ्ना योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने उनले दाबी गरे ।

बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, ‘मैले आइसिसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।’

आफूले मान प्रतिष्ठा वा नाम दामका लागि नभई आफ्नो मातृभूमी र संसारभरका नेपालीहरुलाई सघाएर पुण्य र सन्तुष्टि प्राप्तीका लागि अध्यक्षमा उम्मेदवार हुन लागेको उनले स्पष्ट पारे।

घोषणासभामा उनले भने, ‘मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु, ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु ।’ आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने पनि उनले जानकारी दिए ।

अध्यक्षका उम्मेदवार शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट गराउने उनको अठोट छ ।

उनले हाम्रो नीतिस् सुधारौं श्रमिकको आर्थिक स्थिति, विपे्रषणको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटन ‘‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन लगायतका नारालाई आफ्नो बाचा पत्रमा उल्लेख गरेका छन् ।

नेपालको बाग्लुङमा वि।सं २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि सन् २००३ मा पैसा उठाउन भनेर कतार पुगेका थिए। कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उनले त्यहीँ एउटा निर्माण कम्पनीमा लेखापालको रुपमा जागिर सुरु गरेका थिए । हाल उनी कतारमा सफल नेपाली व्यवसायीका रुपमा स्थापित छन् ।

अध्यक्षका उम्मेदवार शर्मा सन् २००५ देखि गैरआवासीय नेपाली अभियानमा सक्रिय छन्। उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरिसकेका छन् ।

हाल संघको आइसिसी उपाध्यक्ष रहेका शर्मा अध्यक्षको शसक्त प्रत्याशी हुन् । उनी पहिलो पटक मध्यपुर्ववाट एनआरएनएको नेतृत्व गर्ने अठोटका साथ चुनावी मैदानमा होमिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot