Logo

सहरी क्षेत्रमा मुटुरोगी दुई गुना बढे : विशेषज्ञ



काठमाडौं, १२ असोज । मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले सहरी क्षेत्रमा मुटुरोगीको संख्या डरलाग्दो गरी बढेको बताएका छन् ।
‘सहरी क्षेत्रमा खानपान र जीवनशैलीमा परिवर्तन आएको छ । धूमपान र मद्यपान गर्ने, मासु र जंकफुड बढी खाने, शारीरिक व्यायाम नगर्ने, शरीरको तौल नियन्त्रणमा नराख्ने, चिन्ता, भय, तनाव र प्रदूषणका कारण मुटुरोगीको संख्या दुई गुना बढेको छ । यो भनेको डरलाग्दो अवस्था हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
युवाहरु नै मुटुरोगको सिकार हुनु चिन्ताजनक भएको पनि डा. भट्टराईले औंल्याए । उनले भने, ‘सामान्यतः मुटुरोग ४० वर्ष काटेपछि लाग्ने हो । तर ३०, ३५ वर्षको उमेरमै हार्ट अट्याकका समस्या आएका छन् । उच्च रक्तचाप, मधुमेह, हार्टएट्याक, कार्डियो भास्कुलर डिजिज हुन् । मुटु र रक्तनलीसँग सम्बन्धित छन् । पहिले क्यान्सर नम्बर वन किलर थियो भने, अहिले मुटुरोग देखिएको छ ।’

मुलुकको २० देखि २५ प्रतिशत जनसंख्यामा मुटुको कुनै न कुनै समस्या रहेको पनि उनले बताए ।
मुटुरोग लाग्न नदिन खानपानमा ध्यान दिने, जंकफुड नखाने, हरेक दिन आधा घण्टा एक्ससाइज गर्ने, शरीरमा सुगर र कोलेस्टेरोल कम गर्नुपर्ने डा. भट्टराईको सुझाव छ ।

मुटुरोगीलाई सरकारी सहयोग राम्रो रहे पनि प्रदेश स्तरमा सेवा विस्तार नभएको उनले बताए । डा. भट्टराईले भने, ‘सरकारले १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथि मुटुरोगीको उपचार फ्री गरेको छ । यसबाहेक गरिब र विपन्न मुटुरोगीलाई पनि फ्री छ । तर दुर्गमका मानिस अहिले पनि उपचारका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता छ । अब प्रदेशस्तरमा मुटुरोगको उपचार सहज बनाउने पहल गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot