काठमाडौं,१२ असोज । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव डा. विजय पौडेलले सहकारीको कर्जा तिर्न अटेर गरेको पाईएको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर १९ कुमारीपाटीमा रहेको पञ्चशिल बहुउदेश्यीय सहकारी संस्थाबाट निकालेको कर्जा रकम अवधि समाप्त भएको लामो समय भइसक्दापनि चुक्ता गर्न आकाकानी गरेपछि सहकारीले ३५ दिने सूचना जारी गरेको छ ।
सहकारीले आज एक सूचना जारी गर्दै तिर्न बाँकी सावा,ब्याज र हर्जनासहितको रकम यथाशक्य चाँडो भुक्तानी गर्न आग्रहसमेत गरेको छ । सहकारीले उल्लेखित ३५ दिनभित्रमा सबै कर्जा चुक्ता नगरे धितो रकम लिलामी गर्ने र धितो रकमले पनि नपुगे अन्य जुनसूकै माध्ययमबाट भएपनि आफ्नो कर्जा असुल उपर गर्ने जनाएको छ ।
साविक ठेगाना कपिलवस्तु भएका पौडेल हाल काठमाडौंको नागार्जुन नगरपालिका ९ स्यूचाटारमा बसोबास गर्ने गर्छन् । उनले आफूले लिएको कर्जाको जमानीमा आफ्नै श्रीमती रम्भा पौडेललाई राखेका छन् । उनले श्रीमती रम्भाको नाममा रहेको मालपोत कार्यालय कलंकीमा दर्ता रहेको कित्ता नम्बर १६१३ को ४ आना १ पैसा क्षेत्रफल रहेको जग्गा र २७८१ कित्ता नम्बर भएको अर्को ३ आना २ पैसा २ दाममा बनेको घरसमेत धितोमा राखेका थिए । उपमहासचिव पौडेल प्रसिद्ध साहित्यकार मोदनाथ प्रश्रितका छोरासमेत हुन् ।