Logo

हाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी



काठमाडौं, १३ असोज । हाड जोर्नी तथा नसा रोग विशेषज्ञद्वय डा. प्रमोद लामिछाने र डा. अनिल भट्टराईद्वारा लिखित पुस्तक ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ सार्वजनिक भएको छ । पुस्तक गत असार २४ गते सार्वजनिक भएको हो । हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञका रुपमा डाक्टरद्वय लामिछाने र भट्टराई अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा कार्यरत छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फन डा. भट्टराईले आफूले गरेको उपचार, अप्रेसन र अनुभवका आधारमा नेपालमा पहिलोपटक हाडजोर्नी तथा नसा रोगसम्बन्धी किताब प्रकाशनमा ल्याएको बताए ।

उक्त पुस्तकमा हाडजोर्नी उपचारका सम्बन्धमा नयाँ विधि र सिद्धान्त उल्लेख गरिएको उनले बताए । डा. लामिछानेले उक्त पुस्तक नितान्त अनुभवको आधारमा लेखिएको भएर सबैले मान्नुपर्छ भन्ने बाध्यता नरहेको बताए । भविष्यमा यो पुस्तकमा उल्लेख भएका कुराहरु सिद्धान्तको रूपमा स्थापित हुने उनको दाबी छ ।

‘आफूले गरेको उपचार र अप्रेसनको आधारमा नेपालमा पहिलोपटक हाडजोर्नी तथा नसा रोगसम्बन्धी किताब प्रकाशन गरेका छौं ।’ उनले भने, ‘यो अन्य प्रकृतिको किताब नभई अनुभवको आधारमा लेखिएको किताब हो । सबैले यसलाई मान्नै पर्छ भन्ने छैन । यहाँ नयाँ विधि र सिद्धान्तको उल्लेख गरिएको छ, जुन भविष्यमा विश्वभर सिद्धान्तको रुपमा विकास हुनेछ भनेर विश्वास लिएका छौं ।’

उनले उक्त किताब दुरदराजमा काम गर्ने चिकित्सकहरुका लागि उपयोगी हुनेमा आफूहरुले विश्वास लिएकोे बताए । मुख्य सिद्धान्तलाई आधार मानेर आफ्नो देशको भौगोलिक अवस्था, उपलब्ध जनशक्ति, सीमित स्रोत साधन र कमजोर आर्थिक अवस्थाका विरामीहरुलाई केही विधि र सिद्धान्त फरक गरेर पनि उस्तै परिणामको उचार र अप्रेसन सेवा दिन सकिन्छ भन्ने ज्ञान प्रदान गर्नु यस पुस्तकको मु्ख्य उद्देश्य रहेको उनले बताए । पुस्तकमा जतिसक्दो कम खर्चमा कसरी हाड जोर्नी सम्बन्धी उपचार दिन सकिन्छ भनेर उल्लेख गरिएको डा. लामिछानेले बताए ।

किताबमा लेखिएका नयाँ कुराहरुका बारेमा उल्लेख गर्दै उनले भने,‘हामीले संसारका विभिन्न देशमा गएर युरोप कोरिया र साथउ अफ्रिका र नेपालका विभिन्न ठाउँमा गएर हामीले सुन्निएको ठाउँमा अप्रेसन गर्दा केही फरक पर्दैन । यति सयको अप्रेसन गर्दा इन्फेक्सन छैन, रिजल्ट राम्रो छ भन्ने कुरा कारण र तथ्यसहित प्रस्तुत गरेका छौं । ओपन फ्याक्चरमा छ घण्टाभित्र आइपुगेको छ भने छ घण्टाभित्र अप्रेसन गर्दा त्यसमा संक्रमण हुँदैन, भएपनि एकदम न्युन र अन्तराष्ट्रिय किताबले मान्यता दिएको छ त्यसको आधारमा मात्र हुन्छ भन्ने तथ्य हामीले यस किताबमा प्रस्तुत गरेका छौं ।’ पुस्तक नेपाली अर्थोपेडिक सर्जनहरुका लागि कोशेढुंगा सावित हुने विश्वास लिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot